नबिल बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्दै, व्यवस्थापन गर्न लक्ष्मी क्यापिटलसँग संझौता
काठमाडौं । नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसग निष्काशन व्यवस्थापन सम्झौता गरेको छ । उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको २ अर्ब बराबरको(२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ रु १,००० का दरले) ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ । सो सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा लक्ष्मी क्यापिटलका तर्फबाट लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
सिभिल क्यापिटल र एनएलजी इन्स्योरेन्सबीच संझौता
काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच संझौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र उक्त क्यापिटल मार्फत शेयर कारोबार गर्दै आएका सेवाग्राहीहरुलाई निर्जीवन बीमामा विशेष छुट दिने बारेमा संझौता भएको हो । त्यसैगरी एनएलजीका कर्मचारी र सेवाग्राहीहरुलाई सिभिल क्यापिटल मार्फत शेयर कारोबार गराउने संझौता भएको हो । संझौता पत्रमा सिभिल क्यापिटलका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत शुसील महर्जन र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबहादुर पन्तले हस्ताक्षर गरेका छन् ।
६.४३ अंकले बढ्यो नेप्से, ३५ करोडको कारोबार
काठमाडौ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा ६.४३ अंकले बढेको छ । ०.५६ प्रतिशतले बढ्दा परिसूचक ११४९.९९ बिन्दुमा पुगेको छ । सोमबार १७१ कम्पनीले शेयर कारोबार गरेका छन् । १२ लाख ६५ हजार ६ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ३५ करोड २८ लाख १० हजार ७ सय ५० रुपैयाँको कारोबार भएको छ । सोमबार २ सूचक बाहेक अन्यमा हरियाली देखियो । बैंक समूह १०.१५, होटल समूह ३३.६७, विकास बैंक समूह ६.३७, जलविद्युत समूह २.८७, वित्तीय समूह २.०७, निर्जीवन बीमा समूह २९.७, माईक्रोफाईनान्स समूह २.२८ र जीवन बीमा समूह २.२ अंकले बढेका छन् । उत्पादन मूलक समूह ४.४४ र अन्य समूह ५.९२ अंकले घटेका छन् । नेशनल माईक्रोफाईनान्स वित्तीय संस्थाका लगानीकर्ताले ५.४५ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका भने यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.८७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।