शिवम् सिमेन्टको ९ महिनाको प्रगतिले लगानीकर्तालाई लोभ्यायो, करोडौंको कारोबार हुँदा १० प्रतिशतले बढ्याे सेयर मूल्य

काठमाडौं । पछिल्लो समय शिवम् सिमेन्ट कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढेकाे छ । चालु आवकाे ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको दिन(साेमबार) कम्पनीको ११ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासिकको रिपोर्ट सार्वजनिक भएसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा झुम्मिएका हुन् । उक्त विवरण अनुसार कम्पनीको वित्तीय अवस्था समग्रमा राम्रो भएकाले सेयरधनीहरु कम्पनीको सेयरमा आकर्षित भएका हुन् । सो अवधिमा कम्पनीले एक अर्ब ५ करोड रुपैयाँ बढीको नाफा कमाएको छ । सोमबार कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन् । अघिल्लो दिन प्रतिकित्ता ४५२ रुपैयाँमा कारोबार बन्द भएको कम्पनीको सेयर मूल्य सोमबार बढेर प्रतिकित्ता ४९७ रुपैयाँमा बन्द भएको हो । जुन अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँ बढी हो । समग्रमा सोमबारको नेप्से परिसूचक ६.३० अंकले बढेर १३०१.३४ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४९ प्रतिशत बढी हो । सो दिन कुल १६९ कम्पनीको ७८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टसले कमायाे एक अर्ब नाफा, गत वर्षको भन्दा १३ प्रतिशत बढी

८४ करोडको सेयर कारोबार, सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर सेयर बिक्री

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ८४ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कूल १७१ कम्पनीको २६ लाख ७० हजार १४० कित्ता सेयर किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी सानिमा बैंकको १६ करोड ४५ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट र प्रिमियर इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबारको नेप्से परिसूचक ३.०७ अंकले बढेर १२९५.०३ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.२४ प्रतिशत बढी हो । त्यस्तै, बजारमा ४ समूह बाहेक बाँकी समूहहरु ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूह १०० अंकले बढेको छ । उत्पादन मूलक ९८, निर्जीवन बीमा ७६ र फाइनान्स समूह ०.४१ अंकले उकालो लागेको हो । जीवन बीमा समूह १० अंकले घटेको छ भने बाँकी समूहहरु सामान्य अंकले ओरालो लागेका छन् । त्यसैगरी, शिवम् सिमेन्टको सेयर मूल्य ९.९८ र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।

सूर्या लाइफले गर्यो १२ प्रतिशत बोनस शेयर प्रस्ताव, बीमा समितिको स्वीकृतिपछि वितरण गर्ने

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैशाख २७ गते बसेको बैठकले बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट चुक्ता पूँजीको १ अर्ब १३ करोड १९ लाखको १२ प्रतिशतले हुन आउने १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको कम्पनी सचिव राजु राजचलले जनाएका छन् । बीमा समितिको स्वीकृति पछि साधारण सभाले पारित गरेपछि बोनस शेयर वितरण गरिने कम्पनी सचिव राजचले जनाए ।