स्वाभिमान लघुवित्तको आईपीओ बाँडफाँड, तपाईलाई पर्यो कि परेन ? (हेर्नुस् सूची)
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेदेखि ३१ गतेसम्म निष्काशन गरेको आईपीओको आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त आईपीओमा १८ हजार ५५८ जनाले १० कित्ता र ७ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । २० देखि ५००० कित्तासम्म आवेदन दिने ७ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् । उक्त आईपीओमा कुल ३ लाख २७ हजार ७४७ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ३ लाख २७ हजार ४८६ जना आवेदकले भरेका आवेदन सदर भएको थियो भने बाँकी २३० जनाको आवेदन भने रद्ध भएको क्यापिटलले जनाएको छ । कुल ६० लाख ६१ हजार ७७० कित्ता दरको ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जुन संस्थाको माग भन्दा ३२.६६ गुणा बढी हो । (तपाईलाई पर्यो कि परेन ? हेर्नको लागि यसमा क्लिक गर्नुहोस् ।) स्वाभिमानले कूल एक करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको एक लाख ९८ हजार ६१० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो मध्ये कर्मचारीलाई ३ हजार ९३ कित्ता र म्युचुअल फण्डलाई ९ हजार ९३० कित्ता छुट्याएको थियो । त्यसमा बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
नेपाल एग्रो र गणपति माइक्रोफाइनान्सको कारोबार खुला, मूल्य रेञ्ज कसको कति ?
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आइतबारदेखि कारोबार खुला भएको छ । अबदेखि दोश्रो बजारमा यी दुबै संस्थाको सेयर किनबेच गर्न मिल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले नेपाल एग्रोको पहिलो कारोबारको लागि प्रतिकित्ता १०३.४८ देखि ३१०.४४ रुपैयाँसम्म मूल्य तोकेको छ । संस्थाको गत जेठ २ गते मात्रै ४ लाख ९७ हजार ७७८ कित्ता आईपीओ सेयर नेप्सेमा सूचिकृत भएको थियो । त्यस्तै, गणपति माइक्रोफाइनान्सको पनि प्रतिकित्ता ७८.९ देखि २३६.७३ रुपैयाँसम्म सेयर मूल्य तोकेको छ । संस्थाको गत जेठ ३ गते १० लाख ३५ हजार कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको थियो ।
९ करोड ३० लाखको आईपीओ आउँदै, दुई लघुवित्तले मागे बोर्डको अनुमति
काठमाडौं । पुँजी बजारमा दुई लघुवित्तले झण्डै ९ करोड ३० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सबैको लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाले गरी कूल ९ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । सोमध्ये सबैको लघुवित्तले सबैभन्दा बढी आईपीओ जारी गर्ने भएको छ । संस्थाले ५ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ५ लाख ३० हजार कित्ता बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको हो । त्यस्तै, आँधीखोला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने तयारी गरेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलबाटै ४ लाख कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । पाइपलाइनमा रहेका यी दुबै संस्थाले बोर्डको अनुमति पाएपछि मात्र सो मात्राको साधारण सेयर बजारमा बिक्रीमा आउनेछन् ।