मिर्मिरेको साढे २ लाख कित्ता बोनस सूचिकृत

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कूल २ लाख ४९ हजार २६४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको बिहीबार मात्रै सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हाे । यस अघि संस्थाको कूल १० लाख ३८ हजार ५८५ कित्ता सेयर नेप्सेमा सूचिकृत थियो । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ९४५ रुपैयाँ रहेको छ ।

ब्रोकर कम्पनीले वेबसाइट खोल्नै पर्ने, जेठ भित्रै जानकारी दिन नेप्सेको निर्देशन

काठमाडौं । हाल सञ्चालनमा आएका प्रत्येक सदस्य दलाल(ब्रोकर) कम्पनीहरुले आफ्नो कार्यालयको वेवसाइट खोल्नै पर्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बिहीबार एक सूचना जारी गरी हालसम्म वेवसाइट नखोलेका र वेवसाइट खोली सञ्चालनमा ल्याएका ब्रोकर कम्पनीहरुलाई नेप्सेको माग बमोजिमको वेवसाइट खोल्न आग्रह गरेको हो । साथै, नेप्सेले आगामी जेठ मसान्तभित्र प्रत्येक ब्रोकर कम्पनीहरुलाई आ–आफ्नो कार्यालयको वेवसाइटको अनिवार्य जानकारी गराउन आग्रह गरेको छ । सर्वसाधारण लगानीकर्ताहरुलाई ब्रोकर कम्पनीहरुले दिने सेवा सुविधाको पहुँचलाई सजिलो बनाउन नेप्सेले उक्त निर्णय गरेको हो । साथै, यसबाट आम लगानीकर्ताहरुले धितोपत्र बजार सम्बन्धी सूचना तथा जानकारीहरु सजिलै पाउन सक्ने नेप्सेको विश्वास रहेको आईटि अधिकृत बालकृष्ण कोजूले जनाएका छन् ।

५.६४ अंकले घट्यो नेप्से, ९४ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक ५.६४ अंकले घटेको छ । ०.४३ प्रतिशतले घट्दा परिसूचक १२९१.९६ बिन्दुमा पुगेको छ । आज शेयर बजारमा १७४ कम्पनीको ३५ लाख ८५ हजार ६ सय ९५ कित्ता शेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्स) का अनुसार ९४ करोड ७३ लाख ४७ हजार ७ सय ७६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजार घटेको दिन २ समूह बाहेक सबै सूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूह ५०.२१ र उत्पादनमूलक समूह ३६.०९ अंकले बढ्दा अरु सबै समूह घटेका हुन् । बैंकिङ समूह ८.३१, होटल समूह १२.१२, विकास बैंक समूह ७.६८, जलविद्युत समूह ३.५४, वित्त समूह २.४१, अन्य समूह ०.९६, लघुवित्त समूह ८.१८ र जीवन बीमा समूह ५३.८८ अंकले घटेका हुन् । बजार घटेको दिन सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.५१ अंकले नाफा कमाएका छन् भने प्रोग्रेशिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.२४ प्रतिशतले गुमाएका छन् ।