३८ करोड ७३ लाखको हकप्रद आउँदै, दुई संस्थाले पाए बोर्डको अनुमति
काठमाडौं । विभिन्न दुई संस्थाले ३८ करोड ७३ लाख २६ हजार ४०० रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले मल्टिप्रपोज फाइनान्स कम्पनी(वित्तीय संस्था) र जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्थालाई सो मात्राको सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै अब दुई संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरको ३८ लाख ७३ हजार २६४ कित्ता सेयर जारी गर्ने छन् । यी दुबैले आ-आफ्नो संस्थाको चुक्तापुँजी बढाउन हकप्रद निष्कासन गर्न लागेका हुन् । सो मध्ये मल्टिप्रपोजले कूल २ करोड ८८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत सो मात्रा अर्थात २ लाख ८८ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्तले चुक्ता पुँजीको शतप्रतिशत अर्थात ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटमार्फत ३५ करोड ८५ हजार २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ ।
कर्मचारीको शेयरले अल्झायो साञ्जेन र रसुवागढीकाे सूचीकरण, ‘एक साताभित्रै नेप्से जान्छाैं’
काठमाडौं । सर्वसाधारणका लागि शेयर वितरण गरि बाँडफाँड गरिएको रसुवागढी र साञ्जेन हाइड्रोपावरले शेयर सूचीकरणका लागि एक साताभित्रै नेप्से र सीडीएससीमा जाने भएका छन् । प्रोमोटर संस्थाका कर्मचारीहरुको शेयर बाँडफाँडमा देखिएको अन्यौलता सुल्झाएर सूचीकरणका लागि निवेदन दिने तयारी उनीहरुले गरेका हुन् । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका कम्पनी सचिव नरनाथ न्यौपानेले सबै प्रक्रिया र कागजात पुर्याएर एक साताभित्रै सूचीकरणका लागि निवेदन दिने जानकारी दिए । ‘निवेदन दिएपछि सूचीकरण गर्न कति समय लाग्छ त्यो उहाँहरुको (सीडीएससी र नेप्सेको) हो, तर हामी यसैसाता निवेदन दिनेगरी अघि बढेका छौं’ न्यौपानेले भने । चिलिमे हाइड्रोपावरका कार्यकारी निर्देशक माधव कोइरालाले समयावधिभन्दा अघि नै सर्वसाधारणको लागि शेयर खुला गरिएको र सर्वसाधारण र प्रोमोटर संस्थाका कर्मचारीको शेयर समेत रहेकोले सूचीकरण प्रक्रिया लम्बिएको जानकारी दिए । ‘सूचीकरणका लागि धेरै लामो प्रक्रिया हुन्छ, आन्तरिक समस्या मिलाउँदा केही समय लागेको हुनसक्छ’ कोइरालाले विकासन्यूजसँग भने । त्यस्तै, साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पनि प्रोमोटर संस्थाका कर्मचारीहरुकै कारण ढिलाई भइरहेको बताउँदै सबै शेयरहरुको सूचीकरण एकैपटक गर्नेगरी अघि बढेको जानकारी दिए । ‘सूचीकरण गर्दा सबै शेयरहरुको एकैपटक गर्नुपर्यो, प्रोमोटर कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको शेयरको वितरणमा केही समस्या आएका छन्, त्यसलाई सुल्झाएर एकैपटक सूचीकरण गर्ने तयारी गरेका छौं, फेरि सीडीएससीको सूचीकरण शुल्क पनि महँगो रहेछ’ श्रेष्ठले भने । नेप्से र सीडीएससीले भने आवश्यक प्रक्रिया पूरा गरी आएमा आएको १/२ दिनभित्रै शेयर सूचीकरण सम्झौता गरिसक्ने बताएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आवश्यक कागजातसहित निवेदन दिएको एक महिनाभित्र सूचीकरण गरिदिनुपर्ने व्यवस्था रहे पनि आवश्यक कागजात र प्रक्रिया पूरा गरेर आउने जुनसुकै कम्पनीको शेयर १/२ दिनभित्रै पनि सूचीकरण गर्ने गरेको जानकारी दिए । जनताको जलविद्युत् अन्तर्गत समावेश भएका दुवै कम्पनी बैशाख ६ गतेदेखि १२ गतेसम्म शेयरको बिक्री गरी बैशाख १९ गते बाँडफाँड समेत गरेका थिए । उनीहरुले प्रोमोटर संस्थाका कर्मचारीहरु र स्थानीयवासीका लागि भने अघिल्लो वर्षनै शेयर जारी गरिसकेका थिए । सर्वसाधारणका लागि जारी गरिएको रसुवागढीको शेयर ४० र ५० कित्ता तथा साञ्जेनको शेयर १० र २० कित्ताका दरले सबै आवेदकले प्राप्त गरेका छन् ।
कालिका र जनसेवी मर्ज हुँदै, आजैदेखि सेयर कारोबार रोक्का
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज(गाभिने) हुने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच आईतबार प्रारम्भिक (एमओयूमा) हस्ताक्षर भएको हो । उक्त गाभिने प्रयोजनको लागि नेप्सेले जेठ ६ गतेदेखि दुई संस्थाको सेयर कारोबार बन्द गरेको छ । साथै, मर्जरमा जाने प्रकृया पुरा नभएसम्म दुबै कम्पनीको सेयर कारोबार रोक्का हुने छ ।