निरन्तर ओरालो यात्रामा नेप्से, आकर्षण हरायो जलविद्युत् कम्पनीको शेयरमा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर ओरालो यात्रामा नै छ । विगतमा राम्रो प्रतिफल दिएका कम्पनीको सूचक नै नकारात्मक भइरहेको बेला शेयर बजारमा एकैपटक ठूलो मात्रामा साधारण शेयर आउन लागेका छन् । नेपाल धितोपत्र बोर्डको तथ्याङ्कलाई नै हेर्ने हो भने भने पनि विभिन्न १२ कम्पनीका करीब चार अर्ब ४० करोड ६५ लाख ५९ हजार ६ सय रूपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि तयारी हालतमा छन् । त्यसमा सबैभन्दा बढी जलविद्युत् कम्पनी प्राथमिक शेयर बिक्रीको तयारीमा छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल ३२ जलविद्युत् कम्पनीमध्ये बिहीबारको कारोबारका आधारमा हेर्ने हो भने १८ वटा जलविद्युत् कम्पनीको शेयर दोस्रो बजारमा आधारभूत मूल्यभन्दा निक्कै तल छ । त्यो भनेको सय रूपैयाँमा खरीद गरेको शेयर त्यो भन्दा निक्कै तल आइपुगेको अवस्था हो । विगतमा राम्रो लाभ दिने भनेर चिनिएको चिलिमे जलविद्युत् कम्पनीको शेयरसमेत घटेर प्रतिकित्ता रु ३५५ को हाराहारीमा आइपुगेको छ । आधारभूत मूल्यभन्दा माथि रहेका जलविद्युत् कम्पनीमा अपि पावर १०२ रूपैयाँ, अरुण काबेली १२० रूपैयाँ, बुटवल पावर कम्पनी ३४४ रूपैयाँ, नेपाल हाइड्रो १०४ रूपैयाँ, ङ्यादी १०८ रूपैयाँ, पाँचथर पावर १०४ रूपैयाँ, राधी १३८ रूपैयाँ, सानीमा माई १८० रूपैयाँमा दोस्रो बजारमा कारोबार भइरहेको छ । निर्माणाधीन अवस्थामा नै रहेका माथिल्लो तामाकोशीको शेयर मूल्य दोस्रो बजारमा रु २२४ प्रतिकित्तामा कारोबार भइरहेको छ । यस्तै रसुवागढी रु १६३ र साञ्जेनको रु १५३ मा कारोबार भइरहेको छ । बजारमा लगातार जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ता डुबिरहेको बेला बजारमा आउन लागेको प्राथमिक शेयरले बजारलाई कुन लय र गतिमा लैजाला भन्ने चासो पनि उत्तिकै छ । शेयर बजारलाई नजिकबाट नियालिरहनु भएका विश्लेषक प्रकाश तिवारीको विचारमा कमजोर कम्पनीलाई साधारण शेयर जारी गर्नै दिनुहुन्न । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, मर्चेन्ट बैंकर तथा प्रत्याभूतकर्ता कम्पनीले पनि अब सोच्ने बेला आएको तिवारीको भनाइ छ । जलविद्युत् प्रवद्र्धकले निर्माणको क्रममा नै आफूलाई फाइदा निकाल्ने र साधारण शेयरधनीलाई मर्कामा पार्ने प्रवृत्ति मौलाएका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरले गति लिन नसकेको तिवारीले टिप्पणी गरे । वित्तीयरुपमा कमजोर अवस्थामा रहेका जलविद्युत् कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफासमेत राम्रो दिन सकेका छैनन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रकाशित विवरणसमेतमा उनीहरुको अवस्था कमजोर देखिन्छ । एकाधबाहेक अधिकांश कम्पनीले शेयरधनीलाई राम्रो प्रतिफल दिन सकेको छैन । यसको प्रभाव दोस्रो बजारसमेतमा परेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा जलविद्युत् कम्पनीले ६८ करोड २५ लाख २४ हजार १२२ रुपैयाँ नाफा कमाएका थिए । चालु आवको पहिलो त्रैमासमा केही प्रतिशत नाफा बढेको देखिए पनि समग्रमा लगानीकर्ता घाटामा परेका छन् । आव २०७५/७६ को पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा करीब १९ प्रतिशतले नाफा बढेर रु ८१ करोड ५६ लाख एक हजार ७४१ पुगे पनि मूल्यवृद्धि तथा अन्य कारणले त्यसको सकारात्मक प्रभाव परेको देखिँदैन । हालसम्म प्रकाशित विवरणअनुसार कूल २७ वटा जलविद्युत् कम्पनीको वित्तीय विवरण प्रकाशित भएको छ । त्यसमा सात वटा कम्पनीको हालत कमजोर नै रहेको छ । उदाहरणका लागि दिव्यश्वरी हाइड्रोपावर गत आवको पहिलो त्रैमासमा नै १३ लाख २७ हजार रुपैयाँ बराबरको नोक्सनी व्योहोरेको थियो । चालु आवको पहिलो त्रैमासमा सो कम्पनीको नोक्सान बढेर ३५ लाख ७२ हजार रुपैयाँ पुगेको छ । खानीखोला जलविद्युत् कम्पनीको गत आवको पहिलो त्रैमासमा तीन करोड ६५ लाख ४४ हजार ५२६ रुपैयाँ नोक्सानमा थियो । चालु आवको सोही अवधिमा कम्पनीको नोक्सान ८.५२ प्रतिशतले घटेपनि तीन करोड ३४ लाख ३० हजार ७३७ रुपैयाँ रहेको छ । माउन्टेन हाइड्रोको गत आवको पहिलो त्रैमासमा दुई करोड २६ लाख सात हजार ७४६ रुपैयाँ घाटा खाएकामा चालु आवको पहिलो त्रैमासमा घाटा बढेर चार करोड ५८ लाख ३० हजार ६६९ रुपैयाँ पुगेको छ । कुनै समय राम्रो प्रतिफल दिने कम्पनीको रुपमा परिचित बुटवल पावर कम्पनीको नाफा ४७ प्रतिशतले घटेको छ । आगामी असारदेखि सोही कम्पनीले व्यवस्थापन गर्ने हिमाल पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्तीको ५० प्रतिशत हिस्सा नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा आउने भएपछि झन् घाटा बढ्ने देखिन्छ । यस्तै अरुण काबेली पनि चार लाख ३९ हजार ३३३ बरारबरको नोक्सानीमा रहेको छ । मनसुनको समयमा नै केही जलविद्युत् कम्पनीको विद्युत् बिक्री कम छ । त्यसमा कालिका पावर, खानीखोला, आँखुखोला, युनियन हाइड्रो, राधी रहेका छन् । समग्र आर्थिक सूचक नकारात्मक रहिरहेको बेला जलविद्युत् कम्पनीले शेयरधनीलाई कुनै प्रतिफल दिन सक्ने अवस्था देखिँदैन । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाई भने “सरकारले विद्युत् खरिद बिक्रीको दरलाई केही परिमार्जन गर्ने हो भने विद्यमान समस्याको ५० प्रतिशत समाधान निस्कन्छ । अन्यथा जलविद्युत् कम्पनीको अवस्था यस्तै कमजोर बन्दै जान्छ ।” उनले विद्युत् खरीद बिक्रीमा देखिएको असमानतलाई सच्याउनुपर्ने तथा केही नीतिगत सुधार गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिएको छ । जलविद्युत् कम्पनी समस्यामा पर्दा त्यसले बैंक तथा वित्तीय संस्थालाई समेत समस्यामा पार्ने र अन्ततः देशको अर्थतन्त्रसमेतलाई नकारात्मक दिशामा लैजाने भएकाले तत्काल कुनै न कुनै समाधानको उपाय खोजी हुनुपर्ने अध्यक्ष गुरागाइँको टिप्पणी छ । रासस
साताको शेयर: एक अर्ब ३२ करोडको कारोवार
काठमाडौ । धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच कारोवार दिनमा बुधबार मात्रै बजारले केही सुधारको सङ्केत गरेको भए पनि अन्य दिन नकारात्मक नै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १६८ कम्पनीको शेयर कारोवार भयो । कूल ५१ लाख ५१ हजार २२७ कित्ता शेयर एक अर्ब ३२ करोड १० लाख १७ हजार १३५ रुपैयाँमा कारोवार भयो । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार सो दिन नेप्से १०.५४ बिन्दुले घटेर एक हजार ११०.०८ बिन्दुमा पुग्यो । कूल १६२ कम्पनीका नौ लाख २९ हजार ७४४ कित्ता शेयर २८ करोड पाँच लाख ३४ हजार ४१५ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । सोमबार भने बजारमा रमाइलो दृश्य देखा पर्यो । निरन्तर ओरालो लाग्दै आएको बजार सोमबार यथास्थितिमा रह्यो । नेप्से परिसूचकमा कुनै बदलाव देखिएन । नेप्से परिसूचक शून्यकै अवस्थामा रह्यो । त्यस दिन कूल १६८ कम्पनीका १० लाख ७८ हजार १६ कित्ता शेयर रु २८ करोड ८८ लाख ५८ हजार ४८४ मूल्यमा खरिद–बिक्री भए । मङ्गलबार भने नेप्से परिसूचक झिनो अङ्कले घट्यो । सो दिन नेप्से ०.९१ बिन्दुले घटेर एक हजार १०९.१६ बिन्दुमा झर्यो । नेप्से आरोलो लागे पनि कारोवार रकम भने सामान्य रहन पुग्यो । कूल १६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ता शेयर २९ करोड ५८ लाख ६९ हजार १८० मूल्यमा खरिद–बिक्री भए । बुधबार भने बजारमा सुधार देखापर्यो । नेप्से परिसूचक ८.३० अङ्कले वृद्धि भएर एक हजार ११७.४६ मा पुग्यो । कूल १६५ कम्पनीका सात लाख ३८ हजार ४४६ कित्ता शेयर २१ करोड २३ लाख ६३ हजार ७३६ रुपैयाँमा खरिदबिक्री भए । बुधबारको सुधार बिहीबार टिक्न सकेन । त्यस दिन नेप्से परिसूचक ४।६७ बिन्दुले घटेर एक हजार ११२.७९ मा पुग्यो । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो । कूल १६६ कम्पनीका १२ लाख ७१ हजार छ कित्ता शेयर २४ करोड ३३ लाख ९१ हजार ३२० रुपैयाँमा खरिदबिक्री भए । पाँच कम्पनीको शेयर सूचीकृत नेप्सेमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भए । त्यसमा नेको इन्सुरेन्सका १४ लाख ११ हजार ५३४ कित्ता शेयर लाभांश, नेपाल इन्सुरेन्स कम्पनीका सात लाख ६४ हजार ३२७ कित्ता शेयर लाभांश, प्राइम लाइफ इन्सुरेन्सका २२ लाख ३१ हजार ४३ कित्ता शेयर लाभांश, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका एक करोड दुई हजार ३८८ कित्ता शेयर सूचीकृत भए । त्यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका ११ लाख चार हजार ५७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । रासस
चिलिमेकोे २५ प्रतिशत लाभांश पारित, निर्माणाधिन तीन आयोजनाको ५० देखि ८५ प्रतिशत काम सम्पन्न
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको प्रस्तावित २५ लाभांश पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाले सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस पाउने भएका छन् । चार अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २० प्रतिशत बोनस सेयरपछि पाँच अर्ब ७० करोड रुपैयाँ नाघेको छ । कम्पनीले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ६२ लाख ७२ हजार अधिक यूनिट सहित ६ करोड ३५ लाख १२ हजार यूनिट विद्युत बिक्री गरेको छ । जसबाट कम्पनीले ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, व्याज आम्दानी २ करोड १४ लाख समेत गरी कम्पनीले ५० करोड ४ लाख रुपैयाँ आय आर्जन गरेको छ । सो अवधिमा चिलिमे जलविद्युत केन्द्रको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको सञ्चालन तथा सम्चार खर्च २ करोड ७ लाख ३१ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । समिक्षा अवधिमा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । यस कम्पनी अन्तर्गतका जलविद्युत कम्पनीहरु मार्फत तीन निर्माणाधिन आयोजनाहरुको हालसम्म ५० देखि ८५ प्रतिशतसम्म निर्माण कार्य सम्पन्न भइसकेको छ ।सान्जेन तथा सान्जेन(माथिल्लो) जलविद्युत आयोजनाको सिभिल निर्माण कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भईसकेको छ । त्यस्तै, मध्य भोटेकोशी जलविद्युत आयोजनको हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ । त्यसैगरी, रसुवागढी जलविद्युत आयोजनाको निर्माण काम ७२ प्रतिशत सम्पन्न भएको कम्पनीले जनाएको छ । यी तीन वटै आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा सम्पन्न गर्ने चिलिमेको लक्ष्य रहेको छ ।