२ लाख ६९ हजारले पाए सिंगटी हाइड्रोको आईपीओ, नतिजा यसरी हेर्न सकिन्छ

काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड आज (चैत २७ गते) शुक्रबार हुने भएको छ । उक्त आईपीओ बाँडफाँड सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ बजे भएको हो । यससँगै २ लाख ६९ हजार ७०० जना आवेदकले मात्रै कम्पनीको सेयर हात पारेका छन् । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये २ लाख ६९ हजार ७०० जना आवेदकलाई न्युनतम १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको हो । त्यस्तै, १२ लाख ९० हजार १०२ जना योग्य आवेदकको भने हात खाली भएको छ । कुल १५ लाख ६५ हजार ५३० जनाको आवेदन परेको कम्पनीको आईपीओमा १५ लाख ५९ हजार ८०२ वटा मात्रै रितपूर्वक आवेदन परेको क्यापिटलले जनाएको छ । गत चैत ६ गतेदेखि चैत १० गतेसम्म निष्काशन भएको उक्त आईपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ता सेयर खरिदको लागि आवेदन दिएका थिए । जुन सर्वसाधारणमा बिक्री गरेको तुलनामा ९.१७ गुणा बढी हो । यसरी हेर्न सकिन्छ नतिजा  यससँगै, आवेदकले मेरो सेयरको वेबसाइट मार्फत आईपीओको रिजल्ट हेर्न सक्नेछन् ।

वार्षिक साधारणसभामा जान गोर्खाज फाइनान्सले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । गोर्खाज फाइनान्स आगामी बैशाख २१ गते वार्षिक साधारणसभामा जाँदै छ । चैत २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनको सभाको मिति तय गरेको हो । संस्थाले आथिर्क वर्ष २०७६/७७ को सभा सो दिन बिहान ११ बजे भौतिक उपस्थिति तथा भर्चुअल (भिडियो कन्फरेन्स) माध्यमबाट गर्ने भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्केट क्याटेरिङ्ग इभेन्टमा हुन लागेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको बैशाख ६ गतेदेखि बैशाख २१ गतेसम्म बुक क्लोज हुँदै छ । संस्थाले सभामा लाभांश तथा हकप्रद कुनै पनि प्रस्ताव गरेको छैन । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश नपाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।  

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२.६३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव चैत २६ गते अपरान्ह बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गरेकाे हाे । बैंठकले चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९० करोड ८४ लाख रुपैयाँ पुग्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७.१ प्रतिशत बोनस र करप्रयोजनको लागि ०.९ प्रतिशत नगद गरी कूल १८ प्रतिशत लाभांश वितरण गरेको थियो ।