सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आथिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । यसअघि कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

बजारले एकैदिन तीन नयाँ कीर्तिमान रचेसँगै नेप्सेले भन्यो- कारोबार गर्दा कुनै समस्या भए यसो गर्नुस्

काठमाडाैं । आज (जेठ ४ गते) मंगलबारकाे सेयर बजारमा तीन नयाँ कीर्तिमान कायम भएकाे छ । एकैदिन कारोबार रकम, कारोबार संख्या र नेप्से परिसूचकमा नयाँ कीर्तिमान कायम भएकाे नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले जनाएकाे छ । नेप्सेका अनुसार मंगलबार एक लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँ बराबरका २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् । यसैगरी समग्र सेयर बजार परिसूचक नेप्से यसदिन २७९३.८९ विन्दु कायम भएको छ । कारोबार रकम, कारोबार संख्या तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हाे । यससँगै नेप्सले एक विज्ञप्ति जारी गर्दै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि बजारमा उक्त कीर्तिमान कायम भएकाे जनाएकाे छ । ‘गत २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार भएको छ । हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि ६ लाखभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् ।’, नेप्सेले भन्याे । दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताले सेयरको मूल्यमा प्रभाव पार्न सक्ने धेरैभन्दा धेरै सूचनाहरु संकलन तथा विश्लेषण गर्नुपर्छ । खासगरी आफुले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्षको विश्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम भएको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नुपर्ने हुन्छ । यस किसिमको आधारभुत तथा प्राविधिक  विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत गर्ने दाेश्राे बजार सञ्चालक नेप्से जानकारी गराएकाे छ । साथै, कारोबार गर्दा कुनै समस्या भए यो लिंकलाई पछ्याउन नेप्सेले लगानीकर्तालाई आग्रह समेत गरेको छ । सम्बन्धित समाचार नेप्सेमा दैनिक नयाँ रेकर्ड, ११ अर्ब माथिको सेयर किनबेच, ३३ कम्पनीको मूल्यमा सर्किट

सेयर धितो कर्जामा कडाई, अब ऋण लिन १८० दिनको औसत मूल्य गणना गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाई गरेको छ । बैंकले आज(जेठ ४ गते) चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर धिताेमा कर्जा दिँदा १८० दिनको औसत मूल्य गणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकाे हाे । यसअघि बैंक तथा वित्तीय संस्थाहरूले १२० दिनको औसत मूल्य गणना गरी सेयर कर्जा दिइरहेका थिए । नयाँ व्यवस्थासँगै अब बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्तालाई सेयर धितो कर्जा दिँदा १८० दिनको औसत मूल्य गणना गरी सेयर मूल्यको ७० प्रतिशतसम्म कर्जा दिन पाउने भएका छन् । राष्ट्र बैंकले सेयर मूल्यांकनकाे समय बढाए पनि सेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्थालाई भने निरन्तरता दिइएको छ । ‘बैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने कर्जामध्ये सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत् सेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।’, राष्ट्र बैंककाे मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।