दुई घण्टामै ७ अर्ब माथिको सेयर कारोबार, सबैभन्दा बढी एचआईडीसीएलको

काठमाडौं । सोमबारको बजारमा कारोबार उछाल आएको छ । कारोबार शुरु भएको दुई घण्टाको अवधिमै ७ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भइसकेको छ । दिउँसो १ बजेर ९ मिनेट जाँदा २११ कम्पनीको कूल ७ अर्ब २९ करोड रुपैयाँ बढीको सेयर किनबेच भइसकेको छ । सो अवधिसम्म ७६ हजार ६८७ पटकको कारोबारमा एक करोड ५२ लाख ८७ हजार ६२१ कित्ता सेयर किनबेच भइसकेको छ । कूल कारोबारमध्ये सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनी(एचआइडीसीएल)को सेयर किनबेच भएको छ । कम्पनीको दुई घण्टामै एक अर्ब २ करोड रुपैयाँ बढीको सेयर कारोबार भइसकेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर प्रतिकित्ता ५९५ रुपैयाँमा कारोबार भएको छ । एचआईडीसीएलले ११ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने कम्पनीले हकप्रद सेयर जारी गर्न बोर्डको स्वीकृति पाएसँगै कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । त्यस्तै, सोमबार मात्रै लाभांश घोषणा गरेको नेको इन्स्योरेन्सको पनि उच्च कारोबार भएको छ । दुई घण्टामै कम्पनीको २४ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । यो अवधिसम्म कम्पनीको सेयर प्रतिकित्ता १७४३ रुपैयाँमा कारोबार भइरहेको छ । नेको इन्स्योरेन्सले घोषणा गर्यो तीन वर्ष यताकै उच्च लाभांश, बोनस कति ? त्यस्तै, नेप्से परिसूचक पनि १६ अंकले बढेर २८३६.०२ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो भने अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले बढी हो ।

नेको इन्स्योरेन्सले घोषणा गर्यो तीन वर्ष यताकै उच्च लाभांश, बोनस कति ?

काठमाडों । नेको इन्स्योरेन्सले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिको स्वीकृति एवं आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । प्रस्तावित १६.३२ प्रतिशत लाभांश गत तीन वर्ष यताकै उच्च हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ८.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७३/२०७४ को नाफाबाट सेयरधनीलाई क्रमशः १२.६३ र १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

फण्डमा मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले लगानीकर्तालाई भन्यो- धन्यवाद

काठमाडौं । गत जेठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई निष्काशन तथा बिक्री बन्द भएको छ । प्रभु क्यापिटलले जारी गरेको उक्त फण्डमा ४ दिनमै मागभन्दा बढी आवेदन परेसँगै आज(जेठ ९ गते)बाट निष्काशन बन्द भएको हो । क्यापिटलका अनुसार जेठ ९ गते साँझ ५ बजेसम्म उक्त फण्डमा करिब २ गुणाभन्दा बढी आवेदन परेको छ । १० करोड इकाईको माग गरिएकोमा चौथो तथा अन्तिम दिन अपरान्ह ५ बजेसम्म १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाईका लागि आवेदन परेको छ । जसमध्ये ८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८ सय रकम बराबरको १८ करोड २८ लाख ५८ हजार २ सय ८० इकाई खरिदका लागि आवेदन परेको हो । त्यस्तै, फण्डमा मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले सम्पूर्ण लगानीकर्तामा धन्यवाद व्यक्त गरेको छ । लगानीकर्ताले क्यापिटलको पहिलो स्किम अन्तर्गतको प्रभु सेलेक्ट फण्डमा देखाएको विश्वास र उत्साहजनक सहभागिता रहेको धन्यवाद दिँदै यसले आगामी दिनमा थप उचाईमा पुग्न प्रेरणा मिल्ने पनि बताएको छ । प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो । यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ करोड रुपैयाँ लगानी वापत १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ करोड रुपैयाँ लगानी वापत १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।