सेयर बजारका लगानीकर्ता छुट्टिए, पुँजीगत लाभकर कसलाई कति ?

काठमाडौं । सरकारले सेयर बजारका अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई छुट्याईदिएको छ । आर्थिक वर्ष २०७८/७९को आर्थिक विधेयकमार्फत सरकारले पुँजीगत लाभकरमा लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन गरी दुई भागमा विभाजन गरेको हो । उक्त विधेयक मार्फत सरकारले अल्पकालीन लगानीकर्तालाई बढी अर्थात ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई कम अर्थात ५ प्रतिशत(हालकै बमाेजिम)  कर लाग्ने व्यवस्था गरेको छ । हाल अल्पकालीन र दीर्घकालीन दुबै लगानीकर्तालाई ५ प्रतिशत मात्रै पुँजीगत लाभकर लगाउने व्यवस्था रहेको छ । नयाँ व्यवस्थासँगै अल्पकालीन लगानीकर्ता अर्थात सेयर किनेकाे दिनदेखि ३ सय ६५ दिन(एक वर्ष)भित्र बिक्री गर्ने गर्ने लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ भने एक वर्षपछि सेयर  बिकी गर्ने दीर्घकालीन लगानीकर्ताले हालकै जस्ताे ५ प्रतिशत  पुँजीगत लाभकर तिर्नुपर्ने भएकाे छ । पुँजीबजारका लगानीकर्तालाई कस्तो लाग्यो बजेट ? सरकारले आज अर्थात जेठ १५ गते मात्रै आर्थिक विधेयक सार्वजनिक गरेको हो ।

कमोडिटी मार्केट आगामी वर्षभित्रै सञ्चालनमा ल्याउने, हटाइयो म्युचुअल फण्डको कर

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बताएका हुन् । उनले धान, मकै, गहँ, चिया अलैची जस्ता उत्पादनलाई वस्तुविनमय कारोबारमा समावेश गरिने जनाएका छन् । साथै, सरकारले म्युचुअल फण्डको इकाई बिक्री गर्दा कर नलाग्ने पनि व्यवस्था गरेको छ । यसअघि म्युचुअल फण्डको इकाई बेच्दा म्युचुअल फण्ड सञ्चालन गर्नेको नाफामा कर लाग्ने वा नलाग्ने भन्ने विषयमा दुविधा रहेको थियो । त्यसलाई स्पष्टता बनाउँदै अर्थमन्त्री पौडेलले अब आगामी वर्षदेखि कर नलाग्ने बताएका हुन् ।

सरकारले एनटीसीको २२ प्रतिशत सेयर ग्राहकलाई दिने

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को २२ प्रतिशत सेयर ग्राहकलाई उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । ‘नेपाल दुरसञ्चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीका मोबाइल, ल्याण्डलाइन र इन्टरनेट सेवा गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत सेयर विनिवेश गरिनेछ । हाल कम्पनीको सेवा उपयोग गरिरहेका र आगामी २०७८ पुस मसान्तसम्म थप हुने ग्राहकले समेत सेयर खरिदमा सहभागी हुन सक्ने व्यवस्था मिलाइनेछ । कम्पनीको सेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र सेयर मूल्यको विवरण आगामी २०७८ असोज मसान्तभित्र तय गरिनेछ’ अर्थमन्त्री पाैडेलले भने ।