अन्ततः नेप्सेले रोकिदियो खानीखोला हाइड्रोको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खानीखोला हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले जेठ २० गते बिहीबार एक सूचना जारी गर्दै कम्पनीले वित्तीय विवरण नबुझाएको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (क) मा भएको ब्यवस्था बमोजिम नेप्सेमा विवरण पेश गरेको नपाईएकाले धितोपत्र सूचीकरण, २०७५ को विनियम १६(१) (घ) मा भएको व्यवस्था बमोजिम कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार जेठ २० गतेको निर्णयानुसार रोक्का राखिएको हो’, नेप्सेको सूचनामा उल्लेख छ । यससँगै खानीखोला हाइड्रोले वित्तीय विवरण नेप्सेमा पेश नगरेसम्म दोश्रो बजारमा सेयर कारोबार रोक्का हुने छ । यसअघि नेपाल धितोपत्र बोर्डमा खानीखोला हाइड्रोसहित ३ कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै लगानीकर्ताले निवेदन दिएका थिए । लगानीकर्ताले खानीखोला हाइड्रो, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको हुनाले कारोबार रोक्का गर्न माग गर्दै बोर्डमा निवेदन दिएका थिए । त्यसमध्ये नेप्सेले खानीखोला हाइड्रोको सेयर कारोबार रोक्का गरिदिएको हो । तर बाँकी दुईको बारेमा भने नेप्सेले कुनै जानकारी गराएको छैन ।

राधीको सेयरमा मागको बाढी, बोनस र हकप्रदपछि हरियाली कि सुख्खा खडेरी ?

काठमाडौं । दोश्रो बजारमा सूचीकृत हाइड्रोमध्ये राधी विद्युत कम्पनी सबैभन्दा महङ्गो बनेको छ । सूचीकृत ४० कम्पनीमध्ये राधी विद्युत कम्पनीको सेयर प्रतिकित्ता १३०० रुपैयाँ पुगेको छ । त्यस्तै, राधीपछिको महङ्गो हाइड्रोको रुपमा रुरु जलविद्युत परियोजना रहेको छ । जसको सेयर प्रतिकित्ता ११७० रुपैयाँसम्ममा किनबेच भएको छ । एक वर्षअघि (जुन ३०, २०२०) राधी विद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६९ रुपैयाँ रहेको थियो । त्यसपछि बढेर गत चार महिना (फेब्रुअरी ४, २०२१) अघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको थियो । सामान्य तवरले बढेको कम्पनीको सेयर मूल्य त्यसपछिको कारोबार भने तीव्र रुपले बढेको छ । एक महिनामै कम्पनीको सेयर मूल्य १२५ प्रतिशत बढीले बढेको छ । गत एक महिना अघि (मे ४, २०२१) मा प्रतिकित्ता ५७७ रुपैयाँमा कारोबार भएको सेयर गत जुन १ मा प्रतिकित्ता १३०० रुपैयाँमा कारोबार भयो । जुन हालसम्म कै उच्च मूल्य हो । तर जुन २ को बजारमा भने कम्पनीको सेयरमा १० प्रतिशतको करेक्सन लाग्यो र मूल्य प्रतिकित्ता १२०६ रुपैयाँमा झर्यो । त्यस्तै, कम्पनीले हालै मात्र बोनस र बोनसपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । तर उक्त सूचना जारी हुनु अघि नै कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुनुले इन्साइडर ट्रेडिङ्ग भएको भन्ने आशंका गरिएको छ । बोनस र हकप्रद सेयर जारी गर्ने सूचना आधिकारिक रुपमा प्रकाशित हुनुभन्दा अघि नै भित्रैभित्रै फैलाएर कम्पनीको सेयर मूल्य बढाउने खेल खेलिएको जानकारहरु बताउँछन् । जसले गर्दा छोटो अवधिमा नै कम्पनीको सेयर मूल्यमा एकाएक परिवर्तन आएको स्पष्ट देखिन्छ । यद्यपि, यस विषयमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने मौन छ । यो कम्पनी त केबल एउटा उदाहारण मात्रै हो । यस्ता उदाहारण त दोश्रो बजारमा जतिपनि भेटिइरहेका छन् । तर पनि नियामक भने तै चुप मै चुप भन्दै मौन बसिरहेको छ । कम्पनीले गत जेठ ३ गते मात्रै ३६.५० प्रतिशत बोनस (कर बाहेक) सेयर वितरण गर्ने र त्यसको १५ दिनमै अर्को सूचना जारी गरी बोनसपछि लगत्तै १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । राधी विद्युत कम्पनीले पहिलो पटक सेयरधनीलाई हकप्रद सेयर जारी गर्न लागेको छ । कम्पनीले बोनसपछि जारी कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३६.५० प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको छ । जुन हालसम्मकै उच्च लाभांश हो । हाल कम्पनीको चुक्तापुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ । ३६.५० प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ । यससँगै बोनसपछि कायम उक्त ६४ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजीको १४७.५२ प्रतिशत अर्थात १ बराबर १.४७५२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । १४७.५२ प्रतिशत हकप्रद सेयरपछि कम्पनीको चुक्ता पुँजी ९५ करोड ३५ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले बोनस सेयर वितरण गरेपछि हकप्रद सेयर जारी गर्ने भएकोले यो प्रकृया लामो हुनेछ । हकप्रद सेयरको प्रकृयासम्मको लागि नेप्सेमा कम्पनीको दुई पटकसम्म सेयर मूल्य समायोजन भएको हुन्छ । कम्पनीको जारी गर्न लागेको उक्त हकप्रद सेयर सबै सेयरधनीले किन्नै पर्छ भन्ने हुँदैन । र, किन्न इच्छुक हुने सेयरधनीले कम्पनीको बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म होल्ड गरेको वा दोश्रो बजारबाट सेयर किनेको हुनुपर्छ । मानौं, कम्पनीले आगामी असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने असार ६ गतेसम्म कम्पनीको सेयर किनेका अथवा सेयर होल्ड गरेका सेयरधनीले मात्रै कम्पनीले जारी गर्न लागेको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् । यससँगै इच्छुक सेयरधनीले हकप्रद सेयर खरिद गर्न तोकिएको दरमा मूल्य तिर्नुपर्ने हुन्छ । कम्पनीले १ को अनुपातमा १.४७५२ हकप्रद सेयर जारी गर्ने भनिएमा सो कम्पनीको १०० कित्ता सेयर हुनेले कम्पनीबाट एक कित्ताको १०० रुपैयाँका दरले रकम तिरेर थप १४७.५२ कित्ता सेयर किन्न पाउँछ । जुनसुकै कम्पनीको बोनस या हकप्रद सेयर जारी गरिसकेपछि कम्पनीको सेयर मूल्य समायोजन हुन्छ र मूल्य घट्छ । त्यसपछि समायोजित मूल्यबाटै दोश्रो बजारमा सेयर किनबेच शुरु हुन्छ । सेयर मूल्य समायोजन गर्ने तरिका: (बुक क्लोजअघिको सेयरको मूल्य+ (हकप्रदको प्रतिसेयर भाउ×हकप्रद%))/(१+ हकप्रद %) राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको छ । र, बुक क्लोजको अघिको बजारमा कम्पनीको सेयर प्रतिकित्ता १००० रुपैयाँ (मानिएको) मा अन्तिम कारोबार भएको छ । यस आधारमा कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता ४६३.६० रुपैयाँमा झर्ने छ । र, हकप्रद अघि एक हजार रुपैयाँमा कारोबार भइरहेको सेयर पछि समायोजन भएपछि प्रतिकित्ता ४६३.६० रुपैयाँदेखि दोश्रो बजारमा किनबेच शुरु हुने छ । यी तथ्यांकले राधी विद्युत कम्पनीको सेयर मूल्य अहिले दोस्रो बजारमा जसरी माथि गइरहेको छ वा बजारमा जसरी यो कम्पनीको सेयरको माग बढेको छ, यसले भोलिका दिनमा कायम हुन आउने मूल्यलाई ‘जष्टिफाइ’ गर्छ कि गर्दैन भनेर विश्लेषण आवश्यक छ । केही लगानीकर्ता भने अहिले राधी विद्युत कम्पनीमा मागको बाढी आएपनि बोनस वितरण र हकप्रदपछि हरियाली छाउने वा खडेरी पर्ने भन्नेमा यकिन हुन नसकिने बताउन थालेका छन् ।

अपि पावरको हकप्रद बिक्री खुल्यो, कहिलेसम्मका सेयरधनीले आवेदन दिन पाउँछन् ?

काठमाडौं । अपि पावर कम्पनीले आज(जेठ २० गते)देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजीको २९.३८ प्रतिशत अर्थात एक बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । एक अर्ब ९२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी भएको कम्पनीले एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता अर्थात ५६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको निष्काशन आज(जेठ २० गते) देखि असार ९ गतेसम्म बिक्री खुला हुने छ । यससँगै योग्य सेयरधनीले आजेदेखि असार ९ गते बैंकिङ्ग समयभित्रमा आवेदन दिन सक्ने छन् । उनीहरूले मेराे सेयरकाे मार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि कम्पनीले गत बैशाख २९ गते बुक क्लोज गरेको थियो । यससँगै गत बैशाख २८ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले यसअघि पनि ४७ प्रतिशत हकप्रद सेयर सेयरधनीमा बिक्री गरिसकेको थियो । हाल एक अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २९.३८ प्रतिशत हकप्रद सेयर बिक्री पश्चात २ अर्ब ४९ करोड रुपैयाँ नाघ्ने छ ।