सर्वोत्तम सिमेन्टको एसजीएमले पारित गर्यो लाभांशसहित आईपीओ प्रस्ताव

काठमाडौं । सर्वोत्तम सिमेन्टको विशेष साधारणसभा(एसजीएम)ले प्रस्तावित लाभांशसहित आईपीओ प्रस्ताव पारित गरेको छ । असार १० गते सम्पन्न संस्थाको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद गरी प्रस्तावित २०.१२४ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६।७७ सम्मको नाफाबाट सो मात्राको लाभांश पाउने छन् । त्यस्तै, सभाले संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको पुँजीको अनूपात ८७.१०ः१२.९० हुने गरी मिलान गर्ने प्रस्तावलाई पारित गरेको छ । यसरी सेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता सेयर (आईपीओ) सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधिबाट जारी गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

धितोपत्र बोर्डले गरेको दुई नयाँ व्यवस्था कहिलेदेखि लागू हुन्छ ? यसो भन्छन् सीईओ साउद

काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुँजीबजार विकासको लागि बिहीबार मात्रै दुई नयाँ व्यवस्था गरेको छ । बोर्डले अब प्रिओपन सेसनमा २ प्रतिशतमात्र मूल्य घटबढ गरेर सेयर किनबेच गर्न पाइने र न्युनतम मूल्य परिवर्तनको सीमा घटाएर १० पैसा कायम गर्ने दुई व्यवस्था गरेको हाे । जसलाई दोश्रो बजार सञ्चालक नेपाल एक्स्चेञ्ज स्टक (नेप्से)ले छिट्टै लागू गर्ने बताएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बाेर्डकाे याे कदम सकारात्मक रहेकाे बताएका छन् । नेप्सेको सुझाव अनुसार नै बोर्डले नयाँ व्यवस्था गरेको बताउँदै उनले यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने जानकारी गराए । ‘यो नयाँ व्यवस्थाले बजारको थप विकास र विस्तार हुने छ, अब बोर्डबाट चिठी आएपछि सोही अनुसार छिट्टै लागू गर्ने छौं, अर्को हाम्रो प्रविधिमा पनि कहाँकहाँ परिवर्तन ल्याउनुपर्छ, त्यसमा परिवर्तन गरेर मात्रै लागू हुनेछ, सम्भवतः धेरै समय लाग्दैन’, सीईओ साउदले विकासन्युजसँग भने । प्रिओपन सेसनमा धेरै चलखेल भएकोले यसलाई हटाउनुपर्छ भन्ने पनि केही लगानीकर्ताहरुको गुनासो तथा माग रहेको थियो । उता नेप्सेका प्रमुख साउद भने यसलाई थप सुधार गर्दै लैजाँछौं तर ल्याइसकेका सिष्टम, भईरहेका सुविधाहरु हटाउने पक्षमा छैनौं । ‘प्रिओपन सेसन लगानीकर्ताको जोखिम व्यवस्थित गर्नको लागि राखिएको हो, जुन अन्तरराष्ट्रिय स्तरमा ठूलो अध्ययनका साथ लागू गरिएको हो, यसमा कति प्रतिशत घटबढ गर्ने त्यो छुट्टै हो, तर पनि क्यापिटल मार्केट स्ट्याबिलिटिको लागि आवश्यक नै हो ।’ प्रिओपनको कारोबार सीमा घट्यो, न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसामा झर्यो ‘यो सबैको आ-आफ्नो मोडालिटी अनुसार हुन्छ, कसैले रेगुलर मार्केटमा इन्डेक्समा काउन्ट गर्छन्, कसैले गर्दैनन्, कसैको कति प्रतिशत छ, हाम्रो छिमेकी मुलुक भारतमा १८/१९ प्रतिशत रहेको छ, हाम्रोमा जम्मा ५ प्रतिशतमात्रै थियो, त्यो पनि बढी भयो भन्ने गुनासा आए, त्यसैले यो सीमालाई घटाईएको हो, त्यसैले बजारमा नयाँ नयाँ स्किम लिएर आउनु पर्छ, भएकालाई हटाउने भन्ने हुँदैन, सुधार गर्दै जाने हो’, उनले थप प्रष्टाउँदै भने । हाल प्रिओपन सेसनमा ५ प्रतिशतसम्म मूल्य घटबढ गरेर सेयर कारोबार गर्न पाइने थियो भने न्युनतम मूल्य परिवर्तनको सीमा एक रुपैयाँ रहेको थियो । नयाँ व्यवस्था कार्यान्वयन पश्चात प्रिओपन सेसनको कारोबार थप व्यवस्थित हुने र लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने बाेर्डले जनाएकाे छ ।

‘एनआईसी एशिया सेलेक्ट-३०’ फण्डको बिक्री खुला, नेप्सेको ग्रोथभन्दा बढी रिटर्न पाइने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको अर्को म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेकाे छ । क्यापिटलले आज (असार १० गते) देखि एनआईसी एशिया सेलेक्ट-३० (इण्डेक्स फण्ड) नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गरेकाे हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई बिक्रीमा ल्याएकाे हाे । जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेकाे छ । बन्दमुखी प्रकृतिको योजना रहेको उक्त फण्डको अवधि ७ वर्षको रहेको छ । उक्त फण्डमा इच्छुकले न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । उनीहरुले छिटोमा असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि, उक्त अवधिमा माग अनुसारको बिक्री नभएमा आगामी असार २४ गतेसम्म आवेदन खुला गरिने क्यापिटलले जनाएको छ । यस योजनाको अधिकांश रकम दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये उत्कृष्ट ३० वटा कम्पनीमा मात्र लगानी गरिने छ । समग्र नेप्सेको ग्रोथ भन्दा यस योजनाको न्याभको ग्रोथ बढी हुने हुँदा योजनाको इकाईधनीहरुलाई नेप्सेको ग्रोथ भन्दा बढी रिटर्न दिने क्यापिटलका चिफ अपरेटिङ्ग अफिसर तथा चिफ इन्भेष्टमेन्ट अफिसर मनिष घिमिरेले बताएका छन् । थप सामाग्री ‘एनआईसी एशिया सेलेक्ट-३०’ फण्डले नेप्सेको ग्रोथ भन्दा बढी रिटर्न दिन्छः मनिष घिमिरे