नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको १५.५० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १४२९ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४२९ रुपैयाँबाटै शुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १६५० रुपैयाँमा भएको थियो ।
एचआईडिसीएलको हकप्रद साउन ५ गतेदेखि भर्न पाइने, क-कसले भर्न पाउँछन् ?
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को हकप्रदमा आगामी साउन ५ गतेदेखि आवेदन दिन पाइने छ । कम्पनीले सो दिनदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद जारी गर्न लागेको हो । ११ अर्ब रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी शतप्रतिशत हकप्रदपछि २२ अर्ब रुपैयाँ पुग्नेछ । हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि कम्पनीले गत जेठ २८ गते बुक क्लोज गरेको थियो । यससँगै जेठ २७ गतेसम्म कायम भएका सेयरधनी मात्रै उक्त सेयरमा आवेदन दिन योग्य हुनेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनी वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको जनाउँछ ।
मनकामना स्मार्टको आईपीओमा झुम्मिए लगानीकर्ता, एकैदिन २१.८८ गुणा बढीको आवेदन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा लगानीकर्ताको आकर्षक बढेको छ । आज (असार १७ गते) देखि सेयर निष्काशन तथा बिक्री खुला भएको उक्त सेयरमा पहिलो दिनमै २१.८८ गुणा बढीको आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पहिलो दिन ५ बजेसम्ममा ५ लाख ८८ हजार ३७२ जना आवेदकले संस्थाको ७९ लाख ५३ हजार ८७० कित्ता सेयर माग गरेका छन् । जबकी संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार १७ गतेदेखि २१ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार ३१ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै सेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको सेयर जारी गर्न स्वीकृति दिएको थियो । सेयर निष्काशन गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुने छ ।