नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद(कर प्रयोजनार्थ समेत) गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल सरकार र नियामक निकाय बीमा समितिले स्वीकृत गुर्नपर्छ । त्यसपछि कम्पनीको साधारणसभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । १६.५० प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्ने छ ।
एकैदिन नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (असार ८ गते) नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था दुबैको बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये नागरिक लगानी कोषको ९ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता ३७४३ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४०८० रुपैयाँमा भएको थियो । त्यस्तै, नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । सोमबार प्रतिकित्ता ६२६ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ५४९ रुपैयाँ कायम भएको छ । यससँगै, अबको बजारमा दुबै कम्पनीको सेयर कारोबार समायोजन पछिको मूल्यबाट शुरु हुने छ ।
आईपीओ निष्काशन गर्न आइएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बी रेटिङ्ग
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले हालै कम्पनीलाई उक्त रेटिङ्ग प्रदान गरेकाे हाे । केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि रेटिङ्ग गराएको हो । रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ । कम्पनीले १२० वटा शाखा कार्यलयबाट बिमीतहरुलाई सेवा प्रदान गर्दै आईरहेकोे छ । साथै कम्पनीमा १८ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउंदै जाने क्रममा कम्पनीको वेवसाइट र मोबाइल एप्समा राखिएको च्याटबोट मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुंने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ । आइएमई लाइफ इन्स्योरेन्सले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आईएमई बैंक, आईएमई ग्रुप लगायत ठुला प्रतिष्ठीत व्यवसायिक समुहहरुको लगानी रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, आईपीओ पश्चात संस्थापक सेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत हुनेछ ।