ओम डेभलपमेन्ट बैंकलाई ३० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ओम डेभलपमेन्ट बैंकलाई ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई साउन ३२ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई ४९ करोड ३१ लाख रुपैयाँ बराबरको ४९ लाख ३१ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल क्यापिटल मार्केट रहेको छ ।

यूनियन हाइड्रोले आइपीओ निष्काशन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । यूनियन हाइड्रोपावरले स्थानिय सर्वसाधरणको लागि ६ करोड ३३ लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ६ लाख ३३ हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । हाइड्रोले साउन २९ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो । कम्पनीले लक्ष्मी क्यापिटल मार्फत आइपीओ निष्काशन गर्ने भएको छ ।

नबिल ब्यालेन्स फण्ड-१ले ४२ प्रतिशत नगद लाभांश दिने, भदौ ११ गते बुक क्लोज

काठमाडौं । नबिल म्युचल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स फण्ड-१ ले आफ्ना इकाईधनीहरुलाई ४२ प्रतिशत नगद लाभांश दिने भएको छ । फण्डले २०७३/७४को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो । साथै, सोही नगद लाभांश प्रयोजनको लागि आगामी भदौ ११ गते फण्डको इकाई दर्ता किताब बन्द(बुक क्लोज) हुने छ । उक्त निर्णय फण्डको सञ्चालक समितिको बैठकले गरेको हो ।