माहुली सामुदायिक लघुवित्तले ६० प्रतिशत लाभांश दिने, ५० प्रतिशत हकप्रद पनि
काठमाडौं । माहुली सामुदायिक लघुवित्तले सेयरधनीलाई ६० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत बोनस र १० प्रतिशत नगद लभांश गरि सो मात्राको लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले ५० प्रतिशत बोनस सेयर पछि २ बराबर एकको अनुपातमा (५० प्रतिशत) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । सो निर्णय असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले पूँजी वृद्धिकोे लागि सो मात्राको बोनस र हकप्रद सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ६ करोड रुपैयाँ हुनेछ । त्यस्तै, बोनस पश्चात कायम भएको पूँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको पूँजी ९ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र कम्पनीले सो मात्राको बोनस वितरण तथा हकप्रद सेयर निष्काशन गर्न पाउने छन् ।
थ्राइभ ब्रोकेरेजको सेयर कारोबार खुला
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले थ्राइभ ब्रोकेरेज हाउस प्रा.लिको सेयर कारोबार खुला गरेको छ । ३ दिन कारोबार रोक्का गरेपछि आइतबारदेखि खुला गरेको नेपाल स्टकले जनाएको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले यस ब्रोकेरेजकोे कारोबार रोक्का गरेको हो ।
कन्काई विकास बैंकको साढे पाँच लाख कित्ता सेयर लिलामीमा
काठमाडौं । कन्काई विकास बैंकले साढे पाँच लाख कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले बिक्रि नभएको हकप्रद सेयर वापतको सेयर लिलामीमा बेच्न लागेको हो । कन्काईको हकप्रद सेयर संस्थापक तर्फ ३ लाख ८१ हजार ६ सय ५० कित्ता र साधारण तर्फ १ लाख ६८ हजार २ सय ८७ कित्ता गरि कुल ५ लाख ४९ हजार ९ सय ३७ कित्ता बिक्रि भएको थिएन् । सोही सेयरलाई न्युनतम एक सय रुपैंयाँको मूल्यमा बोल कबोल गरेर खरिद गर्न सकिने सूचना बैंकले प्रकाशित गरेको हो । सिद्धार्थ क्यापिटलबाट कात्तिक १० गतेभित्र कन्काईको सेयर खरिद गर्न सकिनेछ । न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।