ओरियन्टल होटलले १८ प्रतिशत बोनस दिने, कात्तिक ९ गतेदेखि बुक क्लोज

काठमाडौं । ओरियन्टल होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ६.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको बैठकलाई कम्पनीको २०औं वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ । कम्पनीको साधारण सभा आगामी कात्तिक २३ गते हुुने भएको छ । सो प्रयोजनको लागि कात्तिक ९ देखि कात्तिक २३ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड १७ लाख रुपैयाँ रहेको छ । १८ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ९३ करोड ४२ लाख रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०२ रुपैयाँ रहेको थियो ।

१५४ कम्पनीको सेयर मूल्यमा वृद्धि, यी हुन् सोमबार कमाउने १० उत्कृष्ट कम्पनी

काठमाडौं । लामो समय पछि नेप्से परिसूचक उच्च अंकले बढेको छ । ४६ अंकले बढेको सोमबारको बजारमा १६३ कम्पनीको सेयर कारोबार भएको थियो । सो मध्ये १५४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी ९ कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । कमाउने १० उत्कृष्ट कम्पनी सोमबार तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बजारमा सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ रहेको छ । त्यसैगरी, बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य ९.३५ प्रतिशत र एनबी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.१८ प्रतिशतले बढेको छ । सोमबार एनबी इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १२०१ रुपैयाँ रहेको छ । त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको छ । वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, मिसन डेभलपमेन्ट बैंक र अरुण फाइनान्सका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । सोमबार गुमाउने ९ कम्पनी बजारमा सबैभन्दा बढी बिशाल बजार कम्पनीको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।

नेप्से ४६ अंकले उकालो, बीमा समूहले उचाल्यो बजार

काठमाडौं । सोमबारको नेप्से परिसूचक ४६ दशमलब ६२ अंकले उकालो लागेर १५६४ अंकमा पुगेको छ । बजारमा ६० करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६३ कम्पनीको १४ लाख ५६ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी बैंक अफ काठमाण्डूको सेयर कारोबार भएको छ । सो दिन यस बैंकको १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ रहेको छ । सोमबारको बजारलाई बीमा समूहले उचालेको छ । सो दिन बीमा समूहको परिसूचक २६४.७५ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ७८, विकास बैंक ५७, हाइड्रोपावर ५२ र बैंकिङ समूह ४८ अंकले उकालो लागेका छन् । त्यसैगरी, फाइनान्स र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने ट्रेडिङ् समूहको परिसूचक ४ अंकले ओरालो लागेको छ ।