नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सञ्चालक समितिको प्रस्तावलाई आज अर्थात कात्तिक ७ गते सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ । साथै, सोही दिन कम्पनीको सञ्चालक समितिमा चार जना निर्वाचित भएका छन् । कम्पनीको संस्थापक सेयरधनीको तर्फबाट कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाँड निविरोध निर्वाचित भएका हुन् । १५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चित रकम पनि बढेर ८ अर्ब ८ करोड रुपैयाँ र सेयरधनी कोष पनि १८ अर्ब ७० करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २४ करोड रुपैयाँ बराबर सञ्चालन मुनाफा कमाएको थियो । जुन अघिल्लो वर्षको भन्दा २६.७ प्रतिशतले बढी हो । त्यस्तै, बैंकको खुदनाफा पनि २२.१ प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । हाल बैंकको निक्षेप एक खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी एक खर्ब ६ अर्ब रुपैयाँ रहेको छ ।  

प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९७३ रुपैयाँ मात्र

काठमाडौं । मंगलबार प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९.२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९७३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको थियो ।

सिद्धार्थ इन्स्योरेन्सको कात्तिक १५ गतेदेखि १५ दिन बुक क्लोज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको आगामी कात्तिक १५ गतेदेखि १५ दिनसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी कात्तिक २९ गतेसम्म इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा कात्तिक २९ गते हुने भएको छ । साभामा कम्पनीले २० प्रतिशत बोनस सेयर पछि ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६४ करोड रुपैयाँ कायम हुने छ । उक्त कायम भएको पुँजीमा ३५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८६ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।