कस्तुरी फार्मास्युटिकल्सले आईपीओ जारी गर्ने, इस्यू म्यानेजरमा रिलायबल क्यापिटल

काठमाडौं । कस्तुरी फार्मास्युटिकल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडलाई इस्यू म्यानेजरका रूपमा नियुक्त गरेको छ । आईपीओ निष्काशन सम्बन्धी सम्झौतामा कस्तुरी फार्मास्युटिकल्सका अध्यक्ष प्रवेक खनाल र रिलायबल क्यापिटलका तर्फबाट ग्रीष्म चालिसेले हस्ताक्षर गरे । कम्पनीले करिब १६ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । आवश्यक प्रक्रिया पूरा गरी आगामी साउनभित्र आईपीओ जारी गर्ने लक्ष्य कम्पनीले राखेको छ । आईपीओ निष्कासनअघि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति लिनुपर्ने हुन् छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ । कम्पनीका अनुसार हाल प्रति सेयर औसत आन्तरिक मूल्य ३१२.७० रुपैयाँ रहेको छ । आईपीओ अघि कम्पनीले प्राइभेट प्लेसमेन्ट अफरिङमार्फत पनि लगानी जुटाउने योजना बनाएको छ । कम्पनीले आगामी आर्थिक वर्ष २०८४/८५ सम्म प्रति सेयर आम्दानी (ईपीएस) ३१.२९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको जनाएको छ । यस्तै, कम्पनीले आफ्नो ऋण दायित्व क्रमशः घटाउँदै लैजाने योजना समेत अघि सारेको छ । आर्थिक वर्ष २०८२/८३ को पुससम्म कम्पनीको ऋण २४.५७ करोड रुपैयाँ रहेको छ भने आगामी आर्थिक वर्ष २०८४/८५ सम्ममा उक्त ऋण घटाएर ८.३० करोड रुपैयाँमा झार्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । 

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ ।  त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषदको बैठकले आगामी वर्षदेखि मानविकी सङ्काय अन्तर्गत संस्कृत विषयमा विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको सङ्कायका सहायक डीन डा. वामदेव अधिकारीले जानकारी दिए ।  उनका अनुसार एक सय दिनभित्रमा मानविकी सङ्कायका सबै परीक्षाका नतिजा प्रकाशित गरिने निर्णयसमेत गरिएको छ ।  यस्तै, त्रिविले आमसञ्चार तथा पत्रकारितामा रङ्गमञ्च कार्यक्रम सञ्चालन गर्न लागिएको सहायक डिन डा. अधिकारीले जानकारी दिए । यसैगरी महोत्तरीको बर्दिवासस्थित नव क्षितिज कलेजको सम्बन्धन खारेजी, रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गलाई आमसञ्चार तथा पत्रकारिता र सरस्वती क्याम्पस ठमेललाई राजनीति शास्त्र विषयमा स्नातकोत्तर तहको अध्यापन अनुमतिलगायत निर्णय गरेको उनले बताए । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई  तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी-व्यवसायीले माग गरेका छन् । रूपन्देहीको भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।  पर्यटन क्षेत्रमा झण्डै १ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको भए पनि अपेक्षित परिणाम नआउँदा लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको पर्यटन व्यवसायी अमित गुप्ताले बताए ।  लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र ऐतिहासिक, धार्मिक र बौद्ध सभ्यतासँग जोडिएका महत्वपूर्ण गन्तव्य हुन् । ती क्षेत्रको प्रवर्द्धनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको भए पनि पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी पहल हुन नसक्दा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन सकेको छैन । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ  सरकारले पर्यटन प्रवर्द्धन र विमानस्थल सञ्चालनमा प्रभावकारी भूमिका खेल्ने विश्वास निजी क्षेत्रले लिएको बताए । उनले यो क्षेत्र बौद्ध सभ्यता, इतिहास र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकसित हुनसक्ने उल्लेख गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए पर्यटन प्रवर्द्धन मात्र होइन समग्र आर्थिक गतिविधिमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।  नेपाल भन्सार एजेन्ट सङ्घ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रूपन्देही नेपालकै महत्वपूर्ण औद्योगिक क्षेत्र भएकाले यहाँ उत्पादन हुने वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक पूर्वाधार र वातावरण सिर्जना गर्न नयाँ सरकारले विशेष ध्यान दिनुपर्ने बताए । भैरहवा औद्योगिक करिडोरमा उत्पादन हुने वस्तुको निर्यात विस्तार गर्न सके उद्योग क्षेत्र थप सशक्त बन्ने उनको भनाइ छ ।  विमानस्थल सञ्चालन र नाका व्यवस्थापन प्रभावकारी भए अन्तर्राष्ट्रिय व्यापार विस्तारमा सहयोग पुग्ने उनको धारणा रहेको छ । निजी क्षेत्रका प्रतिनिधिका अनुसार स्थिर सरकार गठन भएपछि लगानीमैत्री वातावरण निर्माण, पर्यटन प्रवर्द्धन, उद्योग विस्तार तथा पूर्वाधार विकासमा सरकारले ठोस् पहल गर्ने अपेक्षा गरिएको छ । उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आए लुम्बिनी क्षेत्रको पर्यटन विकाससँगै रूपन्देहीको उद्योग-व्यापारमा पनि ऊर्जा थपिने विश्वास व्यक्त गरे । विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुने विश्वास गरिइएको छ ।