एनआईसी एशियाका ग्राहकलाई स्तुपा हस्पिटलमा १५ प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच ग्राहक तथा सेयरधनीलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने विषयमा समझदारी भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट काठमाडौं नर्थ सर्कल हेड सुदिन कुमार लामा तथा हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यस्तै, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य सेयरधनीहरूले बैंकको क्रेडिट कार्डमार्फत उपलब्ध सेवा सुविधाहरू उपयोग गर्न सक्नेछन् । ग्राहकहरूको सहजताका लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा बैंकको एटीएम सेवा सञ्चालन गर्ने सहमति समेत भएको छ । ग्राहकलाई परिष्कृत तथा सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिएको यस सहकार्यबाट बैंकका ग्राहक तथा सहकारी संस्थासँग आबद्ध कर्मचारी र सेयरधनीहरूलाई थप सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको जनाएको छ ।
बालबालिका र युवामा वित्तीय सचेतना फैलाउँदै माछापुच्छ्रे क्यापिटल
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनी वीक–२०२६ को अवसरमा वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका तथा युवामा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमहरू आयोजना गरिएको क्यापिटलले जनाएको छ । कार्यक्रममार्फत सहभागीहरूमा वित्तीय ज्ञान, सीप तथा सकारात्मक आर्थिक व्यवहार विकास गर्ने लक्ष्य राखिएको थियो । ग्लोबल मनी वीक अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष सञ्चालन हुँदै आएको विश्वव्यापी अभियान हो । यस वर्षको अभियान मार्च १६ देखि २२, २०२६ (चैत २–८, २०८२) सम्म ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित मनाइएको थियो । अभियान अन्तर्गत क्यापिटलले चैत ३ गते वितारा बालग्राम, कलंकी (काठमाडौं), चैत ६ गते जनता माध्यमिक विद्यालय, हरैचा (मोरङ) तथा चैत ८ गते बोडे माध्यमिक विद्यालय, भक्तपुरमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनका कर्मचारीहरूको सहभागितामा वित्तीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कार्यक्रममार्फत सानै उमेरदेखि युवालाई आर्थिक रूपमा सचेत बनाउने, जिम्मेवार वित्तीय निर्णय लिन सक्षम बनाउने तथा दीर्घकालीन वित्तीय स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्य राखिएको क्यापिटलको भनाइ छ । यस्ता सचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ ।
विद्यार्थीलाई सक्षम नागरिक बनाउन ज्योति विकास बैंक सक्रिय
काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी वीक २०२६ अभियान अन्तर्गत देशका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले चैत २ गतेदेखि ८ गतेसम्म एक सातासम्म विविध सचेतनामूलक कार्यक्रम आयोजना गरी अभियान मनाएको हो । ‘स्मार्ट मनी टक्स’ भन्ने मुख्य नारासहित सञ्चालन गरिएको अभियानमार्फत युवा तथा लक्षित वर्गलाई वित्तीय ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले बैंकका विभिन्न शाखामार्फत देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । डिजिटल माध्यम तथा सामाजिक सञ्जालमार्फत पनि विभिन्न सचेतनामूलक सामग्री सार्वजनिक गरिएको थियो । अभियानअन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालय अन्तर्गतका शाखाहरूले विद्यालय तथा कलेजहरूमा आधुनिक बैंकिङ, बैंक तथा वित्तीय संस्थाका कार्य, वित्तीय अनुशासन, आवश्यकता र चाहनाको व्यवस्थापन, वित्तीय लक्ष्य निर्धारण, बचत, लगानी, खर्च व्यवस्थापन, विद्युतीय वित्तीय सेवा, नगदरहित कारोबार, धितोपत्र बजार तथा विद्युतीय ठगी सम्बन्धी विषयमा ३० भन्दा बढी तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थिए । यसबाट करिब २ हजार २०० भन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकले जनाएको छ । यस अवधिभर बैंकले सामाजिक सञ्जालमार्फत अडियो–भिजुअल सामग्री प्रकाशन गर्नुका साथै प्रभातफेरी कार्यक्रममार्फत वित्तीय जानकारी प्रवाह गरेको थियो । यस्ता कार्यक्रमले बालबालिका, युवा तथा लक्षित वर्गमा वित्तीय साक्षरताको महत्वबारे जागरण ल्याउने विश्वास बैंकको रहेको छ । संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा विनियोजन गरेको जनाएको छ । नवजात शिशुको अकाल मृत्यु न्यूनीकरणका लागि ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५९० भन्दा बढी शिशुको जीवन रक्षा गर्न सहयोग पुगेको बैंकको दाबी छ । बैंकले गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर योगदान गरेको जनाएको छ । हाल ज्योति विकास बैंकले देशभर ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।