‘स्मार्ट मनी टक्स’ नारासहित कृषि विकास बैंकको वित्तीय सचेतना अभियान
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ‘ग्लोबल मनी विक अभियान २०२६’ अन्तर्गत देशभर १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सातै प्रदेशका सहभागीहरूलाई वित्तीय ज्ञान तथा व्यवहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । विश्वभर हरेक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको थियो । अभियानअन्तर्गत बैंकले बचत गर्ने बानीको विकास, कर्जा लगानी र त्यसको सदुपयोग, डिजिटल बैंकिङ सेवा, वित्तीय ठगीबाट बच्ने उपायलगायत विषयमा विद्यार्थी तथा युवाहरूलाई सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बैंकका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाउँदै अभियानलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरतासम्बन्धी सामग्री उत्पादन तथा प्रकाशन–प्रसारणसमेत गर्दै आएको बैंकले उल्लेख गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित बैंकले सामाजिक उद्यमशीलता, विकास, रोजगारी सिर्जना तथा दिगो विकासमा योगदान पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
वित्तीय साक्षरता अभियानमा एनआईसी एशिया बैंक सक्रिय, देशभर ४ हजार युवासम्म पहुँच
काठमाडौं । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित उक्त अभियानअन्तर्गत बैंकका सातै प्रदेशस्थित शाखाहरूले स्थानीय विद्यालय तथा कलेजहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् । कार्यक्रममार्फत विद्यार्थी तथा युवाहरूमा वित्तीय ज्ञान, सीप तथा सकारात्मक वित्तीय व्यवहार विकास गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ । बैंकका अनुसार अभियानअन्तर्गत देशभर सञ्चालन गरिएका ६७ भन्दा बढी कार्यक्रममार्फत ४ हजार १ सयभन्दा बढी विद्यार्थी तथा युवाहरू लाभान्वित भएका छन् । यससँगै वित्तीय साक्षरता सम्बन्धी जनचेतना अझ व्यापक बनाउन बैंकले विभिन्न सूचना तथा सचेतनामूलक सामग्री तयार गरी आफ्ना सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आयोजना गरिएका कार्यक्रमहरूले बालबालिका, विद्यार्थी तथा युवामाझ वित्तीय ज्ञान, सीप तथा जनचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुगेको बैंकले विश्वास व्यक्त गरेको छ ।
सौराहामा ‘फुड फेस्टिबल’ यही चैत १२ गतेदेखि
चितवन । पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाले महोत्सवको तयारी अन्तिम चरणमा पुर्याइएको जानकारी दिएको छ । सौराहाको गैँडाचोकस्थित छत्री स्ट्रिटमा महोत्सव आयोजना गर्न लागिएको रेवानका महासचिव नवीन नेपालले जानकारी दिए । ‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको फेस्टिबलले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यसअघि प्रणय दिवसका अवसरमा आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम निर्वाचन गतिविधिका कारण स्थगित गरिएको थियो । सुरक्षा, सहभागिता र व्यवस्थापनमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै नयाँ मिति तय गरिएको महोत्सवका संयोजक कृष्णप्रसाद खतिवडाले बताए । उन्नाइस वर्षदेखि निरन्तर आयोजना हुँदै आएको सौराहा फुड फेस्टिबलले चितवनको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यस वर्षको संस्करणले सुस्ताएको पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउने र स्थानीय व्यवसायी तथा समुदायमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ । महोत्सवका प्रमुख आकर्षणहरूमा बहुजातीय झाँकी प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक कार्यक्रम, स्थानीय तथा जनजातीय खानाको प्रदर्शनी तथा प्रतियोगिता, साथै ‘वेटर–वेट्रेस’ प्रतियोगिता रहने संयोजक खतिवडाले जानकारी दिए । महोत्सवका लागि ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने महोत्सव अवधिमा करिब एक करोड रुपैयाँ कारोबार हुने अपेक्षा गरिएको छ । दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।