संसदीय समितिको निर्वाचन ः अर्थमा काँग्रेसका सन्तोष चालिसे, सार्वजनिक लेखामा ऋषि पोखरेल
फाइल फाेटाे काठमाडौं । राजनीतिक दलहरुले संसदीय समितिको सभापतिको टुगो लगाएका छन् । निर्वाचन भएको ९ महिनापछि सोमबार दिउँसो मिनि संसद्को रुपमा रहेको संसदीय समितिका सभापतिको निर्वाचन हुन लागेको हो । सोमबार निर्वाचनको मिति तय भएपछि राजनीतिक दलहरुले उम्मेद्वारको टुंगो लगाएका छन् । नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्रले विकास समिति सभापतिमा माधव सापकोटा र कानुन समितिमा विमला सुवेदीलाई उम्मेदवार बनाउन लागेको छ । यस्तै, अन्तर्राष्ट्रिय समितिमा जसपाबाट राजकिशोर यादव र एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषि पोखरेलको उम्मेदावरी टुंगो लागेको हो । महिला समितिमा एमालेबाटै किरण साहको उम्मेदवारी तय भएको छ । यस्तैगरी, उद्योग समितिमा जनमत पार्टीबाट अब्दुल खान र शिक्षा समितिमा एकीकृत समाजवादीबाट भानुभक्त जोशीको उम्मेदवारी टुंगो लागेको हो । प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन भएका छैनन् । प्रतिनिधिसभाका समितिको गठन वैशाख १५ मा भएको थियो । समितिको निर्वाचनका लागि आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।
कागबेनी बाढी : करिब एक अर्ब बरबारको क्षति
मुस्ताङ । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कानुसार बाढीले कागबेनीमा करिब एक अर्बको क्षति पुर्याएको छ । भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पुर्याएको थियो । बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति पुर्याएको छ । गाउँपालिकाको कृषि शाखाको तथ्याङ्कानुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूल बोट क्षति पुगेको छ । बाढीले कृषकको ११ रोपनी तीन कठ्ठा बढीमा लगाइएको स्याउलगायतका फलफूलमा क्षति पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए । उनकाअनुसार करिब एक सय ६९ भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको उनको भनाइ छ । बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुङ्गा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको उनले जानकारी दिए । उनीहरूको ३५ देखि ५५ वटासम्म स्याउ बोटमा क्षति पुगेको उनको भनाइ छ । कृषि बाढीले स्याउलगायतका कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ । करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए । गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीनवटा कुलो बाढीले क्षति गरेको छ । उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलोसमेत बाढीले बगाएको छ । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौवटा हाते ट्रयाक्टरसमेत बाढीले बगाएको उहाँ बताउनुहुन्छ । बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उकरण र सिँचाइ कुलो बगाउँदा करिब एक करोड बढीको क्षति भएको धामीको भनाइ छ । बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ । पशुचौपाया बगाउँदा करिब ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिए । बाढीले २३ गोठ, ३२ लुलुगाई, दुईवटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताउनुभयो । यसबाट करिब ५० लाख बढीको नोक्सानी भएको उनको भनाइ छ । बाढीले नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ क्षति गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड दुई लाख बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । पचास ५० घरमा रु ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइसवटा घर पूर्ण र पाँचवटा घरमा आंशिक क्षति भएको थियो । रासस
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए । ‘हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै आएको छ’, उनले भने, ‘दूधबाट बनेका परिकार स्थानीय बजारमा बिक्री गरेर पनि काठमाडौँ निर्यात गर्ने गरेका छौँ ।’ उनले विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पीमात्र अमेरिका निर्यात हुने गरेको दाबी गरे । यहाँको दुग्ध सङ्कलन केन्द्रमा वालिङ नगरपालिकासहित दक्षिणी पर्वतबाट समेत कृषकले दूध जम्मा गर्ने गरेका छन् । ‘साना किसान कृषि सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक आठ सयदेखि एक हजार एक सय लिटरसम्म दूध सङ्कलन हुन्छ’, उनले भने, ‘दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ, दूधको सिजनमा छुर्पीको उत्पादन धेरै नै हुन्छ ।’ अध्यक्ष अर्यालले प्रतिकिलो छुर्पीलाई एक हजारदेखि एक हजार एक सयसम्म पर्ने बताए । उनले दूधबाट उत्पादित परिकारको बजारीकरणका लागि समस्या नभएको बताए । सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा दूधमा दिएको अनुदानले कृषक व्यावसायिक गाईभैँसीपालनमा आकर्षित हुँदै गएको बताए । ‘कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री, लहरेबालीका बीउबिजन, घाँसका बिरुवा वितरण गर्दै आएका छौँ’, उनले भने, ‘बाख्रापालक कृषकलाई बोयर बोका, एक सय ५० किलोदेखि माथि अदुवा लगाउने कृषकलाई किलोमा २५ रूपैयाँ अनुदान दिँदै आएका छौँ ।’ प्रबन्धक रेग्मीले प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना कृषकलाई ‘भँैसी अनुदान कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए । उनले २८ जना कृषकलाई ‘भकारो सुधार कार्यक्रम’अन्तर्गत अनुदान वितरण गरिएकोसमेत जानकारी दिए । विसं २०७५ मा स्थापन भएको सहकारीमा दुई हजार आठ सय ५० शेयर सदस्य रहेका छन् । सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कृषि पेसातर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषकलाई अनुदान दिँदै आएको प्रबन्धक रेग्मीको भनाइ छ । ‘हिजोआज वित्तीय संस्थाहरूले ऋण लगानी गर्ने र ब्याजमार्फत मुनाफा आर्जन गर्ने परम्परा चलिरहेको छ’, उनले भने, ‘यो अवस्थामा परिवर्तन ल्याएर कृषकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजनाअनुसार सहकारीले काम गरिरहेको छ ।’ रेग्मीले सहकारीले कृषकमुखी कार्यक्रम सञ्चालन गर्दा वैदेशिक रोजगारमा जान ठिक्क परेकाहरू रोकिने गरेको सुनाए । उनले कृषकलाई अकला नमूना साना किसान कृषि सहकारीमा जोडिएर स्वरोजगार बन्न आग्रह गरे । रासस