आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरुमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्र मन्त्री एनपी साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रबद्र्धन गर्न, पर्यटन प्रबद्र्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो । अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यवसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिएका थिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए । यसका लागि नेपाली दूतावासहरुले व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजिकरण गर्नुपर्ने उनले बताए । भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा संचालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भइकल एग्रीमेन्ट गरी नेपाली मालबाहक एवं अन्य सवारी साधनहरुको आवतजावतलाई सहज बनाइनुपर्नेमा परिसंघले जोड दिएको बताएको छ । मन्त्री साउदले परिसंघले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । छलफलमा परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।

विदेशमा सिकेको सीप, अनुभव र पूँजी नेपालको विकासमा लगाउन अर्थमन्त्री डा.महतको आग्रह

क्यानाडा । अर्थमन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् । क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँग छलफल तथा अन्तरक्रिया गर्ने क्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् । अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा उर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीको लागि आकर्षक रहेको मन्त्री महतले बताए । यसैगरी, नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न उनले आग्रह गरेका छन् । नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचना विना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराएका थिए । अर्थमन्त्री डा. महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनमा भाग लिन २० अगष्ट २०२३ मा क्यानाडा गएका थिए । उनी भोली साँझ स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ ।

प्रधानमन्त्रीले दिए प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई भैसेपाटी निवासको साँचो [तस्वीरहरु]

काठमाडौं । ललितपुरको भैंसेपाटीमा बनेको मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको नयाँ कार्यालय तथा निवासको साँचो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् । आइतबार आयोजित एक समारोहमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई नयाँ निवासको साँचो हस्तान्तरण गरेका हुन् । कार्यक्रममा केन्द्रीय सरकारका मन्त्री, प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थिति थियो । सहरी विकास मन्त्रालयको बनाएको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको निवासमा १४ वटा ब्लक छन् । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्नको लागि बनाइएको उक्त निवास तयार गर्दा सरकारले ८५ करोड रुपैयाँ खर्च गरेको बताएको छ ।