भिजन लुम्बिनी उर्जाले भदौ १९ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता भर्ने ?

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले भदौ १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १९ लाख १२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । सो सेयरमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको १, २, ३, ४ र पोखरा महानगरपालिका १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । साथै, सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँको १० प्रतिशत अर्थात् १ लाख ९१ हजार २५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम स्थानीयले ३ लाख ८० हजार कित्ता र वेदेशिक रोजगारमा रहेका नेपालीले १९ हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा असोज १७ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।

माण्डु हाइड्रोपावरको आईपीओ २०६ रुपैयाँमा बिक्री खुला

काठमाडौं । माण्डु हाइड्रोपावरले आज भदौ १० गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण्लाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको स्थानीयलाई बिक्री गरेको सेयरमा आवेदन नपरेको ७९ हजार ३० कित्ता सहित गरी कूल १३ लाख ६ हजार ३०६ कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारी र ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २४ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सक्षम रहेको कम्पनीको रुपमा जनाउँदछ ।

नेपाल राष्ट्र बैंकले आइतबार १० अर्बको विकास ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । घटीमा रू पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रू पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत्मात्र हुनेछ ।