सोमबार लक्ष्मी सनराइजको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

काठमाडौं । सोमबारको सेयर बजारमा लक्ष्मी सनराइज बैंकको सर्वाधिकर सेयर कारोबार भएको छ । बैंकको एकैदिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य पनि बढेको छ । दिनभरको बजारमा बैंकको सेयर रमूल्य बढेर प्रतिकित्ता १८१.२० रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४.७१ प्रतिशतले बढी हो । सोमबारको सेयर बजार सामान्य अंकले बढेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२५ प्रतिशतले बढी हो । बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले बढेको छ । सो दिन हाइड्रोपावर, उत्पादनमूलक र माइक्रोफाइनान्स समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी होटल्स समूह ४५.२३ अंकले बढेको छ ।

पोखराको फुर्केटारी सामुदायिक वनको पानी बिक्रीबाट वार्षिक १ करोड आम्दानी

गण्डकी । सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभई अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूह । पोखरा महानगरपालिका-२५ हेम्जास्थित उक्त समूहले सामुदायिक वनको पानी बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको छ । समूहले ‘फुर्केटारी एक्युफेर’ प्रशोधित पानी बिक्रीबाट गत आर्थिक वर्ष २०७९/८० मा एक करोड ३७ लाख ६६ हजार पाँच सय ४४ आम्दानी गरेको समूहका महभिरखोला प्राकृतिक खानेपानी प्रालिका अध्यक्ष मित्रलाल त्रिपाठीले जानकारी दिए । सामुदायिक वनको बीच भागमा चट्टानलाई छिचोल्दै निस्केको पानीलाई प्रशोधन गरी कम्पनीले २० लिटरको जार, एक लिटर र आधा लिटरको बोतलमा बिक्री वितरण गर्दै आएको छ । उक्त पानी स्थानीय बजारका साथै गण्डकी प्रदेश सरकारका सम्पूर्ण मन्त्रालयसहित ३५ वटा सरकारी कार्यालयमा समेत खपत हुँदै आएको अध्यक्ष त्रिपाठीले जानकारी दिए । सामुदायिक वनको मूलको पानी शुद्ध र स्वादिलो भएकाले पनि माग बढ्दो रहेको उनको भनाइ छ । पानी प्रशोधनका लागि समूहले प्रतिघण्टा तीन हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता भएको उद्योग स्थापना गरेको छ । त्रिपाठीका अनुसार गत आवमा २० लिटर क्षमताका एक लाख ८३ हजार तीन सय ७५ वटा जार बिक्री गरिएको थियो । साथै एक लिटरको बोतल भरिएका ३१ हजार आठ सय ३४ कार्टुन र आधा लिटरका बोतलले भरिएका दुई हजार दुई सय १२ थान कार्टुन बिक्री गरिएको थियो । कूल दुई करोड ५० लाखको लगानीमा सञ्चालन गरिएको पानी उद्योगमा १४ जनाले प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरेका छन् । कम्पनीले तीन वटा गाडीमार्फत बजारमा पानी आपूर्ति गर्दै आएका छन् । गत आवमा पानी उद्योग सञ्चालनमा ६६ लाख ५१ हजार नौ सय १६ खर्च भएको थियो भने उद्योगको प्रशासनिक खर्चमा ५४ लाख ७१ हजार नौ सय ७५ खर्च भएको थियो । ‘उपभोक्ताको सक्रियतामा खानेपानीका लागि चार किलोमिटरको दूरीबाट दुई इञ्चको पाइपमार्फत ल्याइएको पानी यतिखेर उद्योगमा परिणत भएको छ’, अध्यक्ष त्रिपाठीले भने, ‘वनको संरक्षण, संवद्र्धनसँगै सम्भाव्यता अध्ययनका आधारमा प्राकृतिक स्रोतलाई उपयोग गर्ने हो भने रोजगारसहित आम्दानीका लागि युवा वर्गलाई विदेशिनु पर्दैन ।’ फुर्केटारी सामुदायिक वन समूहका अध्यक्ष एवं व्यावसायिक पानी उद्योग सञ्चालक समितिका सल्लाहकार उमानाथ त्रिपाठीका अनुसार वन समूहको ५० हजार र ५९ जना उपभोक्ताबाट रु २५ हजारदेखि रु पाँच लाखसम्मको शेयर लगानीमा पानी उद्योग सञ्चालन गरिएको हो । कम्पनीले जार ५० र एक लिटर बोतल भएको कार्टुन एक सय ५० र आधा लिटरको बोतलको कार्टुन दुई सय ४० मा बिक्री गर्दै आएको वन समूहका सचिव रमा त्रिपाठीले बताए । उनका अनुसार कूल २८ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यका साथ पानी व्यवस्थापन, घुम्ती कोष परिचालन, वन गोडमेल, बेमौसमी तरकारी खेती, खानेपानी तथा मुहान संरक्षण र डिप बोरिङ सञ्चालन उपसमिति निर्माण गरिएको छ । तरकारी खेतीमा प्रयोग भएको पानी जार र बोतलमा राखेर बजारमा बिक्री गर्न सुरु गरेपछि सो वन समूहको सक्रियतामा सिँचाइका लागि डिप बोरिङको व्यवस्था गरिएको छ । कूल ६५ लाखको लागतमा प्रतिसेकेण्ड १३ लिटर पानी आउने चार इञ्चको बोरिङमार्फत निकालिएको पानीबाट उपभोक्ताको एक सय ६६ रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको फुर्केटारी एक्युफेयर प्रालिका कोषाध्यक्ष कमलमणि त्रिपाठीले जानकारी दिए । सामुदायिक वनको संरक्षणसँगै उत्पादिन वन पैदावार र प्राकृतिक स्रोतको उपयोगमा कतिपय कानुनी अड्चनका कारण प्रचुर सम्भावना रहेर पनि वन समूहले वन उद्यम सञ्चालन गर्न अलमलिएको सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको बुझाइ छ । उनले भने, ‘सामुदायिक वनको आम्दानीमा तीनै तहका सरकारले थोपारेको करका कारण वन पैदावारमा आधारित उद्योग धरासाही हुने र नयाँ उद्यम सञ्चालनमा समेत बाधक बन्ने परिस्थिति सिर्जना भएको सरोकारवालाको बुझाइ छ ।’ रासस

भारतीय मालवाहक गाडी रोक्‍न नेपाल ट्रक व्यवसायी महासंघको माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरुमा रोक लगाउन माग गरेका हुन् । उनीहरुले निर्बाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए । त्यस्तै उनीहरुले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग गरेका छन् । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले निर्धारित भाडादरको कार्यान्वयन हुनुपर्ने बताए । उनले ट्रक यातायातमा ४७ वटा मुख्य मुख्य रुटहरुको भाडा दर निर्धारण गरेको र त्यसको प्रभावकारी नभएको बताए । भाडाको कार्यान्वयन र त्यसको अनुगमन प्रभावकारी बनाउन उनको आग्रह थियो । उनले सहज ढंगले दुर्घटना निकासको सुनिश्चितता, घाइतेको उपचार व्यवस्था, कानुनसम्मत भार वहन कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने बताए । महासंघले राहतजन्य कार्यहरुको व्यवस्थापन, राजश्व चेकजाँचको बेला ट्रकमा भएको सामान र त्यससँग सम्बन्धित कागजातबीच कुनै किसिमको तालमेल नमिलेको वा सो सम्बन्धी विषयमा शंका लागेमा ट्रकलाई महिनौँसम्म थुन्ने, सामान जफत गर्ने सम्बन्धित ऐनहरुमा संशोधन गर्न माग गरेको छ ।