सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई १० हजार जरिवाना

<p>काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई कारबाही गर्ने निर्णय गरेको छ । क्याप्टेन थापाले उडान सुरक्षा विपरितका अभिव्यक्ति दिएको र क्यानले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै प्राधिकरणले थापालाई १० हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । सोमबार क्यानले थापालाई जरिवाना गर्ने निर्णयको जानकारी सहितको पत्र पठाएको बताएको [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई कारबाही गर्ने निर्णय गरेको छ ।

क्याप्टेन थापाले उडान सुरक्षा विपरितका अभिव्यक्ति दिएको र क्यानले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै प्राधिकरणले थापालाई १० हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

सोमबार क्यानले थापालाई जरिवाना गर्ने निर्णयको जानकारी सहितको पत्र पठाएको बताएको छ ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले थापालाई कारबाही स्वरुप जरिवाना गर्ने निर्णय भएको पुष्टि गरेका छन् ।

प्राधिकरणले भदौ १ गते ७ दिनको समय दिदै थापालाई स्पष्टीकरण सोधेको थियो । तोकिएको समयभित्र स्पष्टीकरणको जवाफ पेश नगरी थापाले प्राधिकरणको आदेश तथा निर्देशनको समेत अवज्ञा गरेको भन्दै जरिवानाको निर्णय गरेको निरौलाले बताए ।

यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दै आएको र गर्न लागेको काममा थापाले बाधा पुर्‍याएको ठहर प्राधिकरणको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा (२) बमोजिम १० हजार रुपैया जरिवाना गरिएको निरौलाले बताए ।

थापा वायुसेवा सञ्चालक संघका अध्यक्ष समेत हुन् ।

सिम्रिक एयरका अध्यक्ष थापाले भक्तपुरमा हेलिप्याड बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत दवाब दिएपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी र क्याप्टेन थापाकाबीच तनावपूर्ण सम्बन्ध छ ।

पर्यटन मन्त्री सुदन किरातीको निर्देशन अधिकारीले नमानेपछि मन्त्री र अधिकारीकै बीचमा स्पष्टिकरणको जुहारी चलेको थियो ।

Share News