काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरुमा रोक लगाउन माग गरेका हुन् ।
उनीहरुले निर्बाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए । त्यस्तै उनीहरुले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग गरेका छन् ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले निर्धारित भाडादरको कार्यान्वयन हुनुपर्ने बताए । उनले ट्रक यातायातमा ४७ वटा मुख्य मुख्य रुटहरुको भाडा दर निर्धारण गरेको र त्यसको प्रभावकारी नभएको बताए । भाडाको कार्यान्वयन र त्यसको अनुगमन प्रभावकारी बनाउन उनको आग्रह थियो । उनले सहज ढंगले दुर्घटना निकासको सुनिश्चितता, घाइतेको उपचार व्यवस्था, कानुनसम्मत भार वहन कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने बताए ।
महासंघले राहतजन्य कार्यहरुको व्यवस्थापन, राजश्व चेकजाँचको बेला ट्रकमा भएको सामान र त्यससँग सम्बन्धित कागजातबीच कुनै किसिमको तालमेल नमिलेको वा सो सम्बन्धी विषयमा शंका लागेमा ट्रकलाई महिनौँसम्म थुन्ने, सामान जफत गर्ने सम्बन्धित ऐनहरुमा संशोधन गर्न माग गरेको छ ।