हिमालयन क्यापिटलले सिभिललाई गाभ्ने, स्वाप रेसियो १००:३१ अनुपात

काठमाडौं । हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई गाभ्ने भएको छ । दुवै क्यापिटलका माउ संस्था (हिलमायन बैंक र सिभिल बैंक) एक आपसमा मर्जर तथा एक्विजिशन भएपश्चात् हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई गाभ्ने भएको हो । दुवै क्यापिटललको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन (डीडीए)अनुसार सेयर आदान प्रदान अनुपात १००ः३१ स्वाप रेसियो मर्ज हुने भएका हुन् । अर्थात् सिभिल क्यापिटलको १ सय कित्ता सेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता सेयर पाउने छन् । सिभिल क्यापिटललाई गाभेपश्चात् हिमालयन क्यापिटलको नामबाट एकीकृत कारोबार गर्नेछन् । हिमालयन क्यापिटलले सिभिललाई गाभ्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २७ गते बिहान ११ बजे रजिष्टर्ड कार्यालय ठमेलमा सभा बोलाएको हो । क्यापिटलको सभाले डीडीए प्रतिवेदनले निर्धाणरण गरेको स्वाप रेसियो पारित गर्नेछ । त्यस्तै, सिभिललाई गाभेपछि जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । साथै, सिभिललाई प्राप्ति गर्ने प्रक्रिया सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना : कृषितर्फ बजेट खर्च गर्न सकेन

काठमाडौं । रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन । गत आवमा कार्यक्रमका लागि चालुतर्फ १९ करोड ७६ लाख रुपैयाँ बजेटमध्ये ९ करोड २६ लाख ४४ हजार रुपैयाँ अर्थात् ४६.८८ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । त्यस्तै पुँजीगततर्फ ६९ लाख रुपैयाँ बजेट विनियोजन भएकामा कार्यक्रमले ३० लाख ८१ हजार रुपैयाँ अर्थात् ४४.६६ प्रतिशत बजेट खर्च भएको देखिएको छ । चालु र पुँजीगत गरेर पनि आयोजनाको खर्च ५० प्रतिशत पुग्न सकेन । २० करोड ४५ लाख रुपैयाँ कार्यान्वयनका आगि आएको बजेटमा कार्यक्रमले ९ करोड ५७ लाख २५ हजार रुपैयाँ अर्थात् ४६.८१ प्रतिशत बजेट खर्च भएको कार्यान्वयन एकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले जानकारी दिए । उनका अनुसार कार्यान्वयन एकाइले ठूलो आयोजनाका रूपमा रहेको शीतभण्डार (कोल्डस्टोर)को बजेट खर्च हुन नसक्दा प्रगति कम देखिएको छ । “शीतभण्डारका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यसलाई गत आवमा खर्च गर्न सकिएन । त्यो बजेट कुल बजेटको करिब ३० प्रतिशत हुन आउँछ”, उनले भने, “अन्यमा पनि किसानले सम्झौताअनुसार काम नगर्दा भुक्तानी कम हुनु, कार्यालयमा कर्मचारी नहुँदा तलबभत्तामा जाने रकम पनि खर्च कम हुँदा प्रगति कम देखिएको हो ।” कार्यक्रममा कामको प्रगति कम देखिनुमा शीतभण्डार निर्माणको काम सुरु नहुनु पनि देखिएको छ । बर्सेनि बजेट विनियोजन हुने तर कार्यान्वयन नभएरै त्यसै बजेटलाई अल्यामा ल्याउने काम आयोजनाले गर्दै आएको छ । चालु आवमा भने शीतभण्डार निर्माणको काम सुरु हुने भएको छ । आयोजनाले सूचना जारी गर्दै प्रक्रिया अगाडि बढाएपछि कृषि क्षेत्रमा सम्भावना बढाउँदै गएको टीकापुरमा शीतभण्डार निर्माण हुने आशा जागेको स्थानीय कमल चौधरी बताउँछन् । यसमा १ करोड २५ लाख रुपैयाँ स्थानीय सरकारले लगानी गर्दै छ । अर्को कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी अभाव देखिएको छ । कर्मचारी अभावका कारण पनि गत वर्ष कामको प्रगति सन्तोषजनक हुन नसकेको सूचना अधिकारी रानाले बताए । उनका अनुसार १३ स्थायी कर्मचारीको दरबन्दी रहेकामा हाल सातजना मात्रै छन् । अधिकृतस्तरको मात्रै सात जनाको दरबन्दी छ । यसमा तीनजनाको मात्रै पदपूर्ति छ । “कर्मचारी नहुँदा कार्यक्रम कार्यान्वयनमा समस्या भएको हो”, उनले भने, “विशेषगरी अधिकृतस्तरको कर्मचारी नहुँदा कार्यक्रम कार्यान्वयन हुन नसकेका हुन् । त्यहीँ पनि सहायकस्तरका कर्मचारीले पनि काम गरेकै हुन् ।” लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको कार्यक्रमको चालु आवका लागि बजेट घटेर आएको छ । चालु आवमा १४ करोड ८६ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ । यसमा नेपाल सरकारको १ करोड ६७ लाख रुपैयाँ छ भने विश्व बैंकको १३ करोड १९ लाख रुपैयाँ रहेको छ । यसमा ६ करोड ६० लाख रुपैयाँ कोल्डस्टोर निर्माणका लागि मात्रै छ । विश्व बैंकसँगको सन् २०२३ डिसेम्बरमा कार्यक्रमको सम्झौता अवधि सम्पन्न हुनेमा पुनः १८ महिनाका लागि कार्यक्रम थप भएको छ । अब आयोजनाले सन् २०२५ जुलाइसम्म काम गर्ने छ । अब आयोजनासँग दुई वर्ष बाँकी छ । रासस

सानिमा रिलायन्सका ६ जना एजेन्सी म्यानेजर विश्वव्यापी सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका ६ जना एजेन्सी म्यानेजर सिंगापुर प्रस्थान गरेका छन् । आार्थिक वर्ष २०७९/८० मा उत्कृष्ट जीवन बीमा व्यवसाय गरेर मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)मा सहभागी हुने अवसर पाएर उनीहरू सिंगापुर प्रस्थान गरेको कम्पनीले बताएको छ । मिलियन डलर राउण्ड टेबल बीमाका एजेन्सी म्यानेजरहरुको विश्वव्यापी सम्मेलन हो । सम्मेलनमा भाग लिन जाने अभिकर्ताहरुमा नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेको कम्पनीले बताएको छ । कम्पनीले कार्यक्रमको आयोजना गरेर एमडीआरटीमा सहभागी हुन जाने अभिकर्ताहरुलाई विदाई गरेको थियो । एमडीआरटीमा सहभागी हुनको लागि हरेक अङ्ग्रेजी वर्षको जनवरीदेखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने कम्पनीले बताएको छ । एमडीआरटी सञ्जालमा हालसम्म ७२ देशका पाँच सय कम्पनी आबद्ध भएका छन् । बीमा अवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्डमार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २०२२ का लागि नेपाललबाट एमडीआरटीमा भाग लिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बताएको छ । त्यसैगरी, सिओटीका लागि भने एक करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि दुई करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो ।