बैंकको ब्याजदर अझै बढ्न सक्छ : बैंकर्स संघ
काठमाडौं । नेपाल बैकर्स संघले बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएको छ । मंगलबार नेपाल बैंकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले विश्व परिवेशअनुसार नेपालका बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएका हुन् । भारतको ब्याजदर औसत ६.५ को हारहारीमा रहेको र सबै देशमा ब्याजजदर बढ्दा नेपालमा भने घटिरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । नेपालमा ब्याजदर घट्नु सकरात्मक भए पनि अन्तर्राष्ट्रिय परिवेशसले भने ब्याजदर बढाउन दबाब दिइरहेको बैंकर्सको भनाई छ । बैंकिङ क्षेत्रमा गत असारसम्मको सूचक सन्तोषजनक नै रहेको पनि उनीहरुले बताएका छन् । पछिल्लो समय बैंकमा निक्षेप केही बढेको भए पनि कर्जा भने तीन प्रतिशतमा सीमित भएको केसीले बताएका छन् । त्यसैगरी, गत आर्थिक वर्षमा बैंकको नाफा ६ प्रतिशत मात्रै भएको उनको भनाई छ । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी बाहिर चर्चा भएजस्तो सहज नभएको पनि बैंकर्सहरु बताउँछन् । ‘पहिलेको तुलनामा तरलता कम नै छ । तरलता बाहिर भनेजस्तो सहज छैन । कर्जाको माग पनि छैन । अझै २÷३ महिना माग नहुने अवस्था छ’, अध्यक्ष केसीले पत्रकार सम्मेलनमा भने ।
शिथिल सेयर बजारमा कुथेली भने निरन्तर उकालो, पाँच अंकले ओर्लियो बजार
काठमाडौं । मंगलबारको सेयर बजार ५.०५ अंक घटेर बन्द भएको छ । केही दिनयता नेप्से परिसूचक २००० भन्दा तल झरेर कारोबार भइरहेको छ । सोमबार भने नेप्से १९९३.४२ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.७१ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ । सेयर बजारमा केही दिन यता सुस्तता आएसँगै कारोबार रकम पनि अर्ब मुनी नै सीमित भइरहेको छ । सोमबारको कारोबारको तुलनामा मंगलबार झन घटेर कारोबार भएको छ । मंगलबार २७८ स्टकको २९ हजार ६४० पटकको कारोबारमा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबारको बजारमा भने ९८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । मंगलबारको सेयर बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उक्त कम्पनीको सेयर मुल्य सूचीकृत भएदेखि नै निरन्तर उकालो लागिरहेको छ । अहिले कुथेली बुखरी हाइड्रोमध्ये सेयर बजारमा पहिलो नम्बरको कम्पनी भएको छ । मंगलबार मात्रै उक्त कम्पनीको सेयर मूल्य ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । मंगलबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमूल्य ९.९९ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको तीन करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सेयर बजारको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक राताम्मे भएको छ ।
महासंघको पर्यटन समिति र उद्योग सचिवबीच भेट, होटललाई उद्योगको मान्यता दिन माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलासँग भेट गरेको छ । पछिल्लो देशमा विदेशी मुद्रा भित्र्याउन उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको होटल व्यवसाय समस्या नै समस्याले जकडिएको र राज्यको प्राथमिकतामा नपरेको भन्दै उनीहरुले उद्योग सचिवमार्फत ध्यानाकर्षण गराएको बताएका छन् । महासंघका उपाध्यक्ष हेमराज ढकाल र उक्त समितिका सभापति देशबन्धु वस्नेत (अजित)को नेतृत्वमा गएको उक्त समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न माग गरेको छ । उक्त समितिले उद्योग सचिव निरौलालाई ज्ञापनपत्र बुझाउँदै होटल क्षेत्रमा निजी क्षेत्रले ठूलो पुँजी लगानी गरी लाखौंलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मुलुकको कूल गार्हस्थ उत्पादनमा समेत टेवा पुर्याएको उनीहरुले बताएका छन् । हाेटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गरी उत्पादनमुलक उद्योग सरह मान्यता दिन उनीहरुले माग गरेका छन् । समितिले उद्योग सचिवसँग राखेको माग १. अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको हुनाले यस महत्वपूर्ण क्षेत्रलाई “औद्योगिक व्यवसाय ऐन २०७६” मा पर्यटनमा मात्र वर्गीकरण गरिएको छ । तसर्थ यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गर्न माग । २. यस क्षेत्रले पर्यटकिय बस्तु तथा सेवाको उत्पादन मार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको कुरा अवगतनै छ । दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा विशेष योगदान पुर्याउनको लागि यस क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुनाले यस क्षेत्रलाई विद्युतको सहुलियत दर रेट, करमा विशेष छुट, विद्युत खपत नियमावलीमा समेत होटल उद्योगलाई विशेष विद्युत महसुल कायम गराई यस क्षेत्रलाई उद्योग सरहको सुविधा उपलव्ध गराउनुपर्ने ३. विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा व्यवस्था भए अनुसार कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क बढी नहुने गरी पठाउन मात्र पाउने प्रावधानले मुलुकमा अन्तर्राष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन रहने देखिन्छ । किनकी अन्तरराष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशत भन्दा कम मूल्यमा सञ्चालन गर्न नचाहने हुंदा विदेशी लगानी नेपाल भित्रिन तयार नरहने हुंदा विदेशी लगानी आकर्षित गर्नका निमित्त ऐनमा परिमार्जन गरी सहज बनाइनुपर्ने ।