सिभिल सहकारीले बोलायो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाले विशेष साधारण सभा बोलाएको छ । सहकारी संस्थाले भदौ ३० गते सोल्टीमोड कालिमाटीमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विशेष साधारण सभा आह्वान गरेको हो । उच्च अदालत पाटनले वि.सं. २०७९ कात्तिक २५ गते साधारण सभा आह्वान गर्न आदेश दिएको थियो । सोही बमोजिम भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय र संस्थाका पिडित बचतकर्ता सदस्यहरूबीच पटक–पटक छलफल भई सभा बोलाउने सहमति भएको थियो । गत बैशाख २१ गते पठाएको पत्र अनुसार विशेष सभा बोलाएको संस्थाले जनाएको छ । सहकारीको सभाले समस्या समाधान गर्ने प्रयोजनका लागि विशेष अधिकार प्राप्त समितिको चयन गर्नेछ । त्यस्तै, विशेष अधिकार प्राप्त समितिलाई संस्थाको एकिन गरी बचत तथा लगानी गरेको ऋण लगायत सम्बन्धित दायित्व एकिन गरी सहकारीका ऋणीहरूबाट लेना रकम असूल उपर गरी समस्या समाधान गर्न आवश्यक अख्तियारी प्रदान गर्नेछ । यस्तै, पिडित बचतकर्ता सदस्यहरूको बचत रकम फिर्ता गर्न आवश्यक कार्यविधि बनाउने भएको छ । पिडित बचतकर्ता सदस्यहरूबाट प्राप्त सुझावहरू उपर छलफल गरी निर्णय गर्नेछ । साथै, विशेष साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयन गर्ने सहकारी संस्थाले जनाएको छ । सिभिल सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इच्छाराज तामाङ हिरासतमा छन् ।

नौमुरे जलविद्युत् आयोजनाको ८३ प्रतिशत रकम फ्रिज, कर्मचारी तलब भत्ता पचाउँदै

काठमाडौं । लुम्बिनी प्रदेशका ५ जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष २०७९÷८० मा बजेटको कूल ८२ प्रतिशत रकम फ्रिज भएको हो । १७.४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज गएको हो । चालु र पुँजीगत गरेर ६ करोड ७९ लाख ५३ हजार रुपैयाँ विनियोजन भएकामा जम्मा १ करोड १८ लाख ७६ हजार रुपैयाँ खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताए । चालु खर्चतर्फ १ करोड ८५ लाख ५३ हजार रुपैयाँ विनियोजन भएकामा ४२ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । दरबन्दीअनुसारको कर्मचारी नहुँदा चालु खर्चको रकम फ्रिज भएको आयोजनाको पुँजीगततर्फ ४ करोड ९४ लाख रुपैयाँ विनियोजन भएकामा ७६ लाख ७ हजार रुपैयाँ मात्र खर्च भएको देखिन्छ । कार्यालयको ५ करोड ६० लाख ७७ हजार रुपैयाँ फ्रिज गएको हो । जुन कूल बजेटको ८२.५३ प्रतिशत रकम हो । सम्भाव्यता अध्ययनअनुसार ७ वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य लिए पनि उद्देश्यअनुरुप काम भने हुन सकेको छैन । कार्यालयका प्रमुखदेखि अन्य कर्मचारीले तलब भत्ता खानुबाहेक अन्य प्रगति शून्यजस्तै छ । बजेट हुँदाहुँदै काम गर्न नसक्नु कार्यालयको कमजोरी रहेको स्थानीयले बताएका छन् । आयोजनाको मुख्य काम बाँकी नै रहे पनि अन्य कार्य अगाडि बढेको कार्यालय प्रमुख प्रजापतीले जानकारी दिए । रिभर ट्रेनिङ वर्कको डिजाइन तयार पार्ने कार्य, आयोजना क्षेत्रको जग्गा अधिग्रहणसम्बन्धी कार्य, जलाधार क्षेत्र संरक्षणसम्बन्धी कार्य, जलाशयको परिधि छुट्टाउने कार्य, शीतखोला पुलको डिजाइन तयार पार्ने कार्यजस्ता काम सम्पन्न भएको उनको भनाइ छ ।रासस

सुन तस्करी प्रकरण : सिआइवीले विदेशमा पनि अनुसन्धान गर्ने, एसएसपीलाई हङकङ पठाइँदै

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङकङ पठाइने भएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिए । चाँडै आचार्य हङकङ जाने पनि उनले बताए । गएको साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धान सिआइवीले गरिरहेको छ । सिआइवीले यही भदौ ८ गते आवश्यक सूचना र जानकारी भए सिआइवीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोध गरिसकेको छ । सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्ने दलहरूबीच सहमतिपछि लामो समयदेखि अवरुद्ध बनेको संसद् सञ्चालन भएको थियो ।