
काठमाडौं । प्रतिनिधि सभाको बैंठकमा गणपुरक संख्या नपुगेपछि एक हप्ताको लागि स्थगित गरिएको छ ।
मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए । त्यसबेला संसद बैठकमा उपस्थित रहेका सांसदहरु क्रमशः बाहिरिएपछि अन्ततः गणपुरक संख्या नै नपुग्ने अवस्था बन्यो।
मंगलबारको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफल भएको थियो ।
छलफल हुँदै गर्दा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक गणपुरक संख्या पुगेन । संसद बैठकका लागि कुल सदस्य संख्याको एक चौथाइ सांसद उपस्थित भएको हुनुपर्छ ।
सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’लाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाउँदै गणपूरक संख्या नपुग्ने भन्दै सांसदहरूको गणना गर्न माग गरेकी थिइन् ।
सांसदले गणपुरक संख्या नपुग्ने भन्दै नियमापत्ति गरेपछि सांसदको उपस्थिति संख्या यकिन गर्नुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ ।
यस्तै एमाले सांसद दामोदर पौडेल वैरागीले पनि गणपूरक संख्या यकिन गर्न माग गरेपछि सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद संख्या गणना गर्न लगाएका थिए ।
बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र उपस्थित भएको पाइएपछि सभामुखले भदौ १८ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।