अटोमोबाइल क्षेत्रको समस्या सुल्झाउन गएका नाडा प्रतिनिधिले अर्थमन्त्रीलाई सुनाए राष्ट्र बैंकप्रतिको गुनासो

काठमाडौं । बुधबार नाडाका अध्यक्ष डा. ध्रुब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेटगरी अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याका बारेमा छलफल गरेको छ । छलफलमा नाडाका अध्यक्ष थापाले सन्दर्भ मूल्य सूचीका बारेमा सरोकारवाला निकायहरुसंग सल्लाह गरेर ययार्थपरक बनाउन अनुरोध गरेका छन् । सोही छलफलका क्रममा अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुर्नतालिकीकरको व्यवस्था हुनु पर्ने, बैंक तथा वित्तीय निकायहरुलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भार घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने,  बैकहरुबाट निजी सवारी साधनको लोन प्रवाह गर्ने प्रकियाको हालको ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत कायम गरिनुपर्ने बताएका छन् । त्यसैक्रममा अध्यक्ष थापाले चालु पुँजी कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको कर्जा बर्गीकरण सम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रीय बर्गमा बर्गीकरण गरिने व्यवस्थाले बैंक तथा वित्तीय निकायमा असल कर्जावालाहरुलाई समेत असर पर्ने बताएका छन् । कुनै पनि कर्जा निष्क्रिय बर्गमा बर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरे पछि पनि ६ महिनासम्म असल कर्जाको बर्गमा स्तरोन्नती नहुने व्यवस्थाले नीजि क्षेत्रलाई हतोत्साहित बनाउने भएकोले यस व्यवस्थालाई पनि तत्काल सच्याउनका लागि थापाले आग्रह गरेका छन् । त्यसैगरी, छलफलमा अध्यक्ष थापाले नेपालमा अहिले अटोमोवाइल उद्योगहरु क्रमशः खुल्दै जाने क्रममा रहेकाले यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोवाइल उद्योगहरुलाई विशेष क्षेत्रमा बर्गिकरण गरी सोही अनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनु पर्ने माग गरेका छन् । काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्था गरी त्यसको निर्माणका लागि समेत पहल गरि दिन थापाले आग्रह गरेका छन् । छलफलमा मन्त्री महतले समस्याहरुका सम्बन्धमा आफु जानकार रहेको र त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिए । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा निशान ढकाल समेतको उपस्थिति रहेको थियो ।

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री

काभ्रे । अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने बताएका छन् । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले अरनिको राजमार्ग विस्तार गर्न बजेट अभाव नहुने बताए । ‘अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन’, मन्त्री डा महतले भने । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तारकार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमिमा तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । यस्तै मन्त्री डा महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चिनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने छ भने ‘उक्त सडकको स्तरोन्नतिले पनि यस क्षेत्रको पर्यटन र कृषिमा टेवा पुग्नेछ, जसका कारण आर्थिक गतिविधि चलायमान भई नागरिकमा थप जागरुकता पैदा गर्नेछ’, उनले भने । मन्त्री डा महतले हाल विदेशी मुद्राको सञ्चिति यथेष्ट भएकाले आयात निर्यातमा कुनै समस्या नभएको बताए । उनले भने, ‘विदेशी र स्वदेशी पर्यटकको चहलपहल बढेको छ, यसले पनि आर्थिक अवस्थालाई टेवा पुग्नेछ ।’ उनले चालु आवमा प्रदेश र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेको दुःख व्यक्त गर्दै सघीय सरकारले झैँ सबैमा बराबरी प्रतिशत घटाइका उनको भनाइ थियो । मन्त्री डा महतले आउने समयमा अर्थतन्त्रले लय समात्नेमा विश्वास व्यक्त गर्दै निजी क्षेत्रले क्रियाशीलता बढाएकाले उक्त क्षेत्रलाई आगामी दिनमा सरकारले आत्मविश्वास दिलाउने काम गर्ने बताए । यसअघि बजेट सुनिश्चिचता नहुँदा धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दे उनले हरेक निर्जाचन क्षेत्रमा प्राथमिकता निर्धारण गरी विकास योजना बनाउन र बजेट माग गर्न आग्रह गरे । सो कार्यक्रममा समितिका प्रमुख दीपक गौतमले आव २०८०/८१ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । रासस

परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् । कार्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले समाजवादीनिकट अनेरास्ववियुका नेताले कार्यालयमा तोडफोड गरेका बताए । ‘घटनाबारे हामीले प्रहरीलाई विस्तृतमा जानकारी गराइसकेका छौँ’, उनले भने, ‘उनीहरुले मेरो र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका छन् ।’ उनले १२/१५ जनाको समूहमा आएका विद्यार्थी समूहले कामकाज चलिरहेकै बेला तोडफोड गरेका बताए । विद्यार्थीको तोडफोडबाट परीक्षा नियन्त्रक नाथ र सिंहको कार्यकक्षमा रहेका टेबुल, सिसा, कुर्सीलगायत अन्य कार्यालय सामग्रीमा क्षति पुगेको छ । अनेरास्ववियु कञ्चनपुरका नेताले स्नातक तह छैटौँ सेमेस्टर समाजशास्त्र विषयको प्रश्नपत्रमा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनुपर्ने माग अघि सारेर गत साउन १८ गतेदेखि कार्यालयमा तालाबनदी गरेको थियो । उक्त ताला पाँच दिनअघि प्रशासनले तोडेको थियो । आफूहरूसँग सल्लाह नै नगरी विद्यार्थीले लगाएर ताला खोलिएको विषयमा आफूहरुको असन्तुष्टि रहेको समाजवादीनिकट अनेरास्ववियुले जनाएको छ ।