हेटौँडा–काठमाडौँ जोड्ने सडकखण्ड पुसभित्र निर्माण सम्पन्न गर्छौं : मुख्यमन्त्री जम्कट्टेल
काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डलाई आगामी पुस महिनाभित्र निर्माण सम्पन्न गर्ने बताएका छन् । प्रदेशको राजधानीलाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने मार्गहरू पहिराको उच्च जोखिम रहेको र सामान्य वर्षा हुँदासमेत पहिरो खसेर पटक–पटक सडक बन्द हुँदा समस्या हुने गरेको भन्दै उनले उक्त सडकखण्ड समयमै निर्माण सक्न चासो दिएको बताए । उनले उक्त सडकखण्ड निर्माणको जिम्मा लिएका निर्माण कम्पनीलाई समयमै काम सक्न निर्देशन दिइसकेको दाबी गर्दै मुख्यमन्त्री जम्कट्टेलले पुस महिनापछि हेटौँडा–काठमाडौँ आवतजावतमा सहज हुने बताए । हेटौँडाबाट काठमाडौँ जोड्ने अन्य मार्गमा पनि विशेषगरी वर्षाको समयमा पहिराको उच्च जोखिम हुने तथा खाल्डाखुल्डी बनेर खण्डीकरण भएका कारण जोखिम बढ्दै गएकोप्रति पनि उहाँले चासो र चिन्ता व्यक्त गरे । मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीहरूसँग गरिएको कार्यसम्पादन करार सम्झौताले पनि कतिपय अधुरा र अपूरा काम समयमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । उनले बुधबार प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता पनि गरेका छन् । कार्यसम्पादन करार सम्झौताले कामको तीव्रता बढ्ने भन्दै उनले सरकारको मुख्य चासो भनेको हेटौँडा–काठमाडौँ जोड्ने सडक निर्माण सम्पन्न गर्नु रहेको बताए । कार्यसम्पादन सम्झौताका क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँ जोड्ने सडकखण्ड पुस महिनाभित्र निर्माण सक्ने गरी काम गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीलाई निर्देशन दिए । यस्तै विगत दुई वर्षदेखि कुलेखानी–सिस्नेरी सडकखण्डको पनि दुई खण्डमा स्तरोन्नति कार्य भइरहेको जानकारी दिँदै उनले सडक स्तरोन्नतिको काम लगभग सम्पन्न भएको जानकारी दिए । उनले सडक फराकिलो बनाउने काम सम्पन्न भएको र अब कालोपत्र गर्न बाँकी रहेको बताए ।
हिमालयन ८०-२० मा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्ड ‘हिमालयन ८०–२०’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ३२ गतेदेखि बिक्री खुला गरेको ‘हिमालयन ८०–२०’ मा लगानीकर्ताहरुले आज भदौ १५ गतेसम्म आवेदन दिन सक्ने छन् । क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब रुपैयाँको बन्दमुखी योजना बिक्री गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्डमा लगानीकर्ताहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् । कुल लगानीमध्ये ८० प्रतिशत दीर्घकालीन लगानी मार्फत् कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने र बाँकी २० प्रतिशत पूँजी सक्रिय लगानी व्यवस्थापमा गर्नेछ ।
सिटिजन लाइफको आईपीओ प्रिमियममा बिक्री खुला, १० कित्ता भर्न कति रकम चाहिन्छ ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ११ लाख २५ हजार कित्ता विदेशमा रोजगारीमा रहेका नेपाली, ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ५ लाख ६२ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको ९० लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता आवेदन भर्नका लागि २ हजार ४४० रुपैयाँ आवश्यक पर्नेछ । यदि सोभन्दा बढी कित्ताका लागि आवेदन दिने हो भने सो रकम बढ्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।