
]काठमाडौं । नेपाल क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा खड्काको प्यानलै विजयी भएको हो ।
पारस खड्कासँग अध्यक्षमा उमेश पियाले प्रतिस्पर्धा गरेका थिए । पारसले २३ मत पाए भने उमेशले १४ मत मात्रै पाए । पदाधिकारी र सदस्यमा पनि पारसको प्यानलका सबैले २३ र उमेशको प्यानलका सबैले १४ मत ल्याएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् ।
सदस्यहरुमा अजयराज पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, हिरक श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्याल विजयी भएका छन् । उनीहरुले पनि २३ मत नै पाएका थिए । अनुजमान श्रेष्ठ भने १६ मत ल्याएर सदस्य निर्वाचित भएका छन् । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् ।