महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १४ हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । लघुवित्तका अनुसार संस्थापक सुरत लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता, कविता कुमारी चौधरीको ४ हजार र पन्ना लाल चौधरीको ४ हजार कित्ता गरी कूल १६ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले उक्त सेयरको मूल्य तोकेको छैन । लघुवित्तको सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने छन् । यदि सो समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने लघुवित्तले जनाएको छ ।

के देशको नाम फेर्दैछ भारत ? निमन्त्रणा पत्रमा लेखियो- ‘द प्रेसिडेन्ट अफ भारत’

काठमाडौं । छिमेकी मुलुक ‘भारत’को औपचारिक र कानूनी नाम हो इन्डिया । स्थानीय रुपमा भारत भनिए पनि अन्तरार्ष्ट्रिय समुदायले भने उसलाई इन्डिया भनेर चिन्छ । तर, जि–२० सम्मेलनका क्रममा राष्ट्रपतिले दिन लागेको भोजका लागि जारी गरिएको निमन्त्रणा पत्रमा भने ‘द प्रेसिडेन्ट अफ भारत’ भनेर लेखिएको छ । जि–२० सम्मेलनमा भाग लिन आउने विशिष्ट अतिथिलाई भारतीय राष्ट्रपति कार्यालयले आगामी शनिबार डिनरका लागि निमन्त्रणा गरेको छ । राष्ट्रपति कार्यालयबाट जारी भएको सोही निमन्त्रणा पत्रले अहिले भारतमा देशको नाम परिवर्तन गर्न लागेको विषयले चर्चा पाएको छ । भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले कानूनी रुपमा नै देशको नाम परिवर्तन गरेर ‘भारत’ बनाउन लागेको चर्चा भइरहेको छ । भारतको विपक्षी दल राष्ट्रिय कांग्रेसले राष्ट्रपति कार्यालयबाट जारी भएको निमन्त्रणा पत्रको विरोध गरेको छ । आगामी वर्ष हुने आमचुनावलाई लक्षित गरेर भारतीय जनता पार्टीले देशको नाम फेर्ने प्रस्तावमा छलफल चलाएको छ । संसदको विशेष अधिवेशनमा सरकारले नाम परिवर्तन सम्बन्धी विधेयक ल्याउन सक्ने चर्चा भारतीय सञ्चार माध्यममा हुन थालेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले संविधानबाट इन्डिया शब्द हटाउने योजना बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ‘इन्डिया’ शब्द औपनिवेशिक दासत्वको प्रतिक भएको र देशको नाम भारत रहेको भाजपाले तर्क गर्दै आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाई २५ मा भएको भाजपा संसदीय दलको बैठकमा विपक्षी गठबन्धन आइएनडीआईएप्रति लक्षित गर्दै इस्ट इन्डिया कम्पनी र भारतीय राष्ट्रिय कांग्रेस बेलायतीहरूले गठन गरेको आरोप लगाएका थिए । चुनावलाई लक्षित गरेर भाजपाले बनाएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)विरूद्ध कंग्रेसले प्रतिपक्षी दलहरूलाइ एकीकृत गर्ने अभियान स्वरुप भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन अर्थात इन्डियन नेशनल डेभलपमेन्टल इन्क्लुसीभ एलाएन्स (इन्डिया) घोषणा गरेको छ । भारतमा आगामी वर्ष हुने आम चुनावमा एनडीए र इन्डियाका बीच प्रतिस्पर्धा हुने अनुमान छ । तर, भारत सरकारले भने चुनाव अघि नै देशको नाम कानूनी रुपमै भारत बनाउने तयारी थालेको त्यहाँको सञ्चार माध्यमले उल्लेख गरेका छन् । र, यसका लागि भारतको संविधान संशोधन गर्नुपर्ने हुन्छ । त्यो त्यति सजिलो भने छैन ।

ग्लोबल आइएमई बैंकले सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा दिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र भिजि इम्पेक्स (जिडब्लुएम नेपाल)बीच सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले भिजि इम्पेक्स तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभी, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्य दिन भित्र बैंकले नियमानुसार सवारी साधन कर्जा प्रवाह गर्ने सम्झाैता गरेकाे छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भिजि इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैंकले बताएकाे छ । ग्लोबल आइएमई बैंकका ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवाप्रदान गर्दै आएको छ ।