महाकाली चारलेन पुलको डिजाइन परिवर्तन गरिँदै (फोटोफिचर)

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित ओदालीमा निर्माणाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ । पुल निर्माण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो । पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म ढुङ्गाको बाँध लगाउने भनिए पनि स्थानीयले ढुङ्गा व्यवस्थापनमा बिरोध गरेका कारण ढुङ्गाको सट्टा आरसीसीको प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिन लागिएको महाकाली पुल आयोजना कञ्चनपुरका सवइञ्जिनियर दुर्गादत्त अवस्थीले बताए । सवइञ्जिनियर अवस्थीले भने, ‘ढुंगाको अभावले डिजाइन परिवर्तन गर्न लागेका हौं, अब परिवर्तन भएर आएपछि मात्रै पुलको कामहरु अघि बढ्नेछ ।’ निमार्णको जिम्मा पाएको कुमार सिएफइसी जेभीले भने ढुङ्गा अभावका कारण बाढीले कम्पनीलाई धेरै क्षती गरेको जनाएको छ । कम्पनीले भनेको समयमा ढुङ्गा व्यवस्थापन नभएको र बाँध निर्माण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाध्न ढुङ्गा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले बताए । इञ्जिनियर पाण्डेयले भने, ‘कम्पनीले भनेको समयमा ढुङ्गा व्यवस्थापन नभएको र बाँध निमार्ण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाध्न ढुङ्गा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको छ, हामीले ढुंगा ल्याउन बारम्बार भनिरहेका छौँ, त्यो भएन भने ५/७ महिना लाग्न सक्छ, यदी समयमै ढुंगा आएन भने त्यो भन्दा बढी समय पनि लाग्न सक्छ ।’ निर्माण गरिनुपर्ने बाँध क्षेत्रमा ३० प्रतिशत २० देखि ४० किलोको सानो ढुङ्गा तथा बाँकी ७० प्रतिशत क्षेत्रमा भने २ सय ५७ किलो माथिका ढुङ्गा आवश्यक पर्छन् । आयोजनाकाअनुसार निर्माण स्थलदेखि २५ किलोमिटर क्षेत्र भित्रमा ढुङ्गा संकलन गर्ने भन्ने भएपनि स्थानीयका बिरोधका बीच ढुङ्गा व्यवस्थापन गर्न नसकिएको हो । बाढीले आयोजनाको ६ करोड ३४ लाख ७३ हजार २ सय ५० रुपैयाँको निर्माणाधीन संरचनामा क्षती गरेको छ । २०७४ सालमा ३ अर्ब २७ करोड ठेक्का सम्झौता निर्माण शुरु गरिएको पुलको उत्तरतर्फको २ सय ५० मिटर पहुँच मार्गलाई बाढीले भत्काएको थियो ।

जनकपुरमा छठपर्वको रौनक, यस्ता देखिए दुलहीझैँ सिङ्गारिएका नगर (फोटोसहित)

जनकपुर । जनकपुरसहित मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छ । छठ पर्वको चौथो र मुख्य दिन मानिने आज व्रतालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसअघि व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय-खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । श्रद्धा, निष्ठा र समर्पणको प्रतिक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् । जनकपुरका पोखरीहरु अहिले छठको गीत र सजावटले झकिझकाउ भएको छ । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ । यसअघि गत आइतवार उसिनेको चामल, माछा-मासु, मुसुरो, लसुन-प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर व्रतालुले ‘अरबा अरबाइन’, सोमवार पवित्र स्नान गरेर चोखो खाएर व्रत सङ्कल्प गर्दै ‘नहाय-खाय’ र हिजो मङ्गलवार पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनि सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरवारमा वास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

तस्वीरमा बैंकर्स संघको साधारणसभाको रमझम (फोटोफिचर)

काठमाडाैं । नेपाल बैंकर्स संघको ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । साधारणसभाबाट कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्याय निविरोध चयन भएका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई अल्पकालिन असाधारण नाफाभन्दा पनि दीर्घकालिन रुपमा सबल हुन आग्रह गर । उनले बैंकहरुले अल्पकालिन नाफा भन्दा पनि दीर्घकालिन रुपमा सबल हुन सिक्नु पर्ने धारणा राखेका हुन् । यस्तै, उनले अहिले बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी गर्न मुस्किल नै भएपनि आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको बताए । ‘अहिले पनि कर्जाको माग उच्च छ, हामीसँग लगानीयोग्य रकमको अभाव हुँदै गएको छ, राष्ट्र बैंक्ले पनि नीतिमा केही संशोधन गर्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।