विराटनगरभन्दा काठमाडौंमा बढी गर्मी, सर्वसाधारणलाई सास्ती

  काठमाडौं । पछिल्ला केही दिनमा काठमाडौं उपत्यकासहित देशभरि गर्मी बढेको छ । काठमाडौं उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता बढेको काठमाडौंको उखरमाउलो गर्मीबाट सर्वसाधारणले सकस महसुस गरिरहेका छन् । घरबाट काममा निस्किनेहरू चर्को घाममा हिँड्नुपर्दा पसिनाले निथ्रक्क भिजिरहेका हुन्छन् । काठमाडौंको उखरमाउलो गर्मीबाट सबैभन्दा बढी सकस भोगिरहेकामा खुला आकासमुनि काम गर्ने श्रमजीवी वर्ग रहेका छन् । खेतबारीमा काम गर्ने किसानदेखि, इँटाभट्टामा काम गर्ने, दैनिक ज्यालादारीमा बाहिर काम गर्ने मजदुरले बाध्य भएर गर्मी सहिरहेका छन् । त्यसपछि सार्वजनिक यातायात प्रयोग गर्ने आमसर्वसाधारणले सबैभन्दा बढी गर्मी सहनुपरिरहेको छ । त्यसबाहेक आफ्नै दुई पाङ्ग्रे सवारीसाधन हुने पनि अहिलेको गर्मीमा बढी सकसमा देखिन्छन् । तर, आफ्नै चार पाङ्ग्रे गाडी हुनेहरू भने घरबाट बाहिर निस्किँदा पनि गाडीभित्र ‘एयर कन्डिसन’ (एसी) हुने भएका कारण राहत महसुस गरिरहेका छन् । अत्यधिक गर्मी भएकै कारण आर्थिक पक्ष केही सबल भएकाहरू घरमा एसी जडान गर्नतिर लागेका भेटिन्छन् भने त्यसभन्दा कम आय भएकाहरू पंखा किन्न बजार पुगिरहेका भेटिन्छन् । बाटोमा हिँड्दा हिँड्दै गर्मी सहन नसकेपछि कोल्ड स्टोर, खुद्रा पसल वा डेरी पसल छिरेर चिसो पेय, बरफ, आइसक्रिम लगायत खानेको भीड पनि ठाउँ–ठाउँमा देख्न सकिन्छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले आज बुधबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसबीच रहने बताए । सोमबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । जबकि हिजो मंगलबार विराटनगरमा भने अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस थियो । सोमबार काठमाडौंमा मापन गरिएको तापक्रम विराटनगरको भन्दा बढी हो । मंगलबार सबैभन्दा बढी धनगढीमा तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । यस दिन नेपालगञ्जको तापक्रम ४३.६ डिग्री रहेको थियो । ४० डिग्रीभन्दा माथि तापक्रम भएको अर्को स्थान वीरेन्द्रनगर थियो, जहाँ ४०.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । गर्मीका कारण मानिसको जनजीवन प्रभावित भएको छ । वैशाख मसान्तमा काठमाडौंको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १५.८ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता भने यहाँको तापक्रम लगातार बढ्दै गइरहेको छ ।  तस्बिरहरू : सौगात पुडासैनी

विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन विमानस्थलमा विमान दुर्घटना उद्धार अभ्यास गरिएको छ । त्रिभुवन विमानस्थल संकटकालीन योजना अन्तर्गत हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दार सम्बद्ध विभिन्न निकायको सहभागितामा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यासमा सोमबार त्रिभुवन विमानस्थल परिसरमा विमान आगलागी पश्चात् नमूना उद्धार अभ्यास गरिएको हो । विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिएको छ । यो अभ्यासका क्रममा विमानस्थल वारपारका आकाशमा काला धुवाका साथ दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्र बनेका छन् ।   तस्बिर : सौगात पुडासैनी

पर्यटकलाई लोभ्याउँदै ‘ग्रेट वाल अफ चाइना’

काठमाडौं । चीनलाई विश्वले चिनाएको/चिनेको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्विक धरोहर हो चीनको द ग्रेटवाल । चन्द्रमाबाट पनि देख्न सकिने र देखिने बताइएको ग्रेटवाल चीनको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हिस्सा हो । यो ग्रेटवाल घुम्न आउने पर्यटकका लागि मात्र होइन, चीनको इतिहास र इतिहाससँग जोडिएको कुराहरु पनि सँगै बताइरहेको छ । यसले कसरी चीन हिजोबाट आजसम्म आइपुग्यो र विश्वको दोस्रो शक्तिशाली राष्ट्र बन्यो भन्नेकुरा पनि देखाउँछ । यसको संरक्षण, विकास र यसबाट चीनको आम्दानीमा जोडिएको हिस्सा नगन्य होला । तर विश्वले चीनलाई चिन्ने पहिलो माध्यम ग्रेटवाल नै हो । हुनतः यो निर्माणका समयमा लाखौँ मजदुरले ज्यान गुमाएको कुरा पनि छ । ति मजदुरलाई यही ग्रेट वालको पर्खालभित्र दबाइएको भन्नेहरु पनि छन् । तर इतिहास आज ति मजदुरहरुको योगदान सँगसँगै यसले पर्यटन प्रवद्र्धनमा पुर्याएको र चीनको आय आर्जनमा पुर्याएको महत्वपूर्ण योगदानको लागि सम्झिरहन्छ ।   यो कयौँ वर्ष लगाएर तत्कालीन अवस्थामा शत्रुबाट बच्न बनाइएको पर्खाल हो । तर आज यो पर्खाल विश्वमा चीनलाई चिनाउने माध्यम बनेको छ । यो पर्खालको एक छेउबाट अर्को छेउमा लगातार हिँड्दाखेरी २ वर्ष लाग्ने अनुमान गरिन्छ । यो कहाँबाट शुरु भएर कहाँ गएर अन्त्य भएको छ भन्नेकुरा भेट्टाउनै मुस्किल छ । जहाँ सबल र हिँड्न लायक संरचना छ, त्यो मात्रै हिँड्नलाई पनि दुई वर्ष लाग्ने अनुमान छ । त्यो देखि बाहेक बाढी, पहिरो र विभिन्न विपत्तिका कारण बीचमै हराइएका र मेटिएका ठाउँहरु पनि छन् । यदी ति सबैलाई जोड्ने हो भने यो निकै लामो छ । यो तत्कालीन अवस्थामा कसरी निर्माण भयो ? यो एउटा रहस्य पनि हो । र सहजै अनुमान गर्न सकिँदैन । तर यो मानव निर्मित हो । त्यसैले गर्दा मानिसले चाहँदा जेसुकै पनि हुनसक्दो रहेछ भन्ने ग्रेटवाल निर्माणबाट प्रमाणित हुन्छ । चीनतिर फर्किएर हेर्दा चीनले विगत २० वर्षमा गरेको उन्नति र प्रगति पनि मानिसले चाहे जे पनि हुनसक्छ भन्ने देखाउँछ । फोटो : न्युज एजेन्सी नेपाल