खुल्यो धरहरा, दैनिक ६ सयले चढ्न पाउने
धरहरा । तस्बिर : साैगात पुडासैनी/विकासन्यूज काठमाडौं । धरहरा खुलेको छ । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको हाे । ०७२ को महाभूकम्पमा धरहरा ढलेपछि छेउमा अर्काे धरहरा बनाइएकाे हाे । साेही धरहरा सर्वसाधारणका लागि खुलेको हाे । संविधान दिवसकाे अवसर पारी धरहरा खुला पारिएकाे हाे । सहरी विकास तथा भवन निर्माण विभागले सर्वसाधारणले धरहरा नि:शुल्क रूपमा चढ्न पाउने जनाएकाे छ । प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउने जनाइएकाे छ । यसैगरी, प्रत्येक घण्टा एक सयजनालाई धरहरा चढ्न टिकट दिइनेछ । ०७५ को कात्तिकमा धरहरा पुन:निर्माण सुरु भएकाे भएपनि पूर्णरूपमा अझै बनिसकेकाे छैन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७८ काे वैशाखमा धरहरा नबन्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए । धरहरा २ वर्षमै निर्माण सम्पन्न हुनेगरी पुन: निर्माण सुरु भएको थियो । नवनिर्मित धरहरा अहिले ४२ रोपनीमा फैलिएकाे छ । पहिला धरहरा पाँच रोपनी क्षेत्रफलमा फैलिएको थियाे । धरहराबाट खिचिएका तस्बिर
देशभर संविधान दिवस मनाइँदै (फोटो फिचर)
काठमाडौं । संविधान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका छन् । त्यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका छन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधनमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् । संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ९ वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।
हनुमान ढोकामा इन्द्र ध्वजोत्थान गरेसँगै सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)
काठमाडौं । हनुमानढोकामा इन्द्रजात्राको लिंगो ठड्याइएको छ । बिहान ८ बजेर २६ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारी समुदायले मनाउने जात्रा हो । यसलाई येँया पुन्हि पनि भनिन्छ । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । १२ औँदेखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । इन्द्रजात्रा र लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, वृहत्संहीता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।