तस्बिरमा भीआईपीहरूको भाइटीका (फोटोफिचर)

काठमाडौं । तिहारको अन्तिम दिन आइतबार देशका भीआईपीहरूले पनि भाइटीका लगाएका छन्। दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका लगाएर भाइटीका मनाउने गरिन्छ। यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् । सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरुबाट भाइटीका लगाएका छन् । झापा गौरदह–३ स्थित निज निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दिपक कार्कीसँगै उनले टीका लगाएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुँइटेलले जानकारी दिए । मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी छिन् । टीका लगाउसँगै उनले नेपालीहरुको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए । उनले नेपालीहरुको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।  

तिहार बिदाको मौकामा महानगरले पद्मोदय मोडका सटर भत्कायो (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयल परिसरका सटर भत्काएको छ । पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका सटरमा महानगरले डोजर लगाएको हो । यसअघि महानगरले ती सटरमा ताला लगाएको थियो । विद्यालयले भाडामा लगाएका सटर भत्काएपछि सामुदायिक विद्यालयका सिकाइ कक्ष फराकिला र व्यवस्थित बनाउने महानगरको योजना छ । कक्षाकोठा र खेलमैदानअभाव हुँदाहुँदै सामुदायिक विद्यालयले सटर निर्माण गरी भाडामा लगाएको भन्दै काठमाडौं महानगरपालिकाले फागुन ०८० देखि सटर खाली गराउने अभियान थालेको थियो । सोही अभियानपछि सामुदायिक विद्यालयले सटर भत्काएर सिकाइ कक्ष विस्तार गरेका हुन् ।  

काठमाडौंमा छ्याप्छ्याप्ती छन् प्रतिबन्धित प्लाष्टिकका फूल र माला (तस्बिरहरू)

काठमाडौं । तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लै छ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ । बजारमा मखमली, सयपत्री लगायतका फूलहरू बेच्नका लागि पसल पसलमा झ्न्ड्याएर राखेको देख्न सकिन्छ । तर पसलहरूमा सयपत्री र मखमली फूल मात्रै छैनन् । प्लाष्टिकका फूलहरूले पनि बजार ढाकेको छ । प्लाष्टिकका फूलहरू बिक्री वितरण गर्न काठमाडौं महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिबन्ध लगाएका छन् । तर प्लाष्टिकका फूलहरू उपत्यकाका विभिन्न पसलहरूमा देख्न सकिन्छ , जुन बेच्नका लागि राखिएको छ । किसानहरू फूल बिक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरूको खपत बढाउनु र बजार बिस्तार गर्नुको सट्टा व्यवसायीहरू छिमेकी मुलुक भारतबाट प्लाष्टिक अन्य मखमली एवं सयपत्री फूलहरू ल्याएर बेच्ने गरेका छन् । रोक लगाइरहँदासमेत प्लास्टिकका मालाहरू छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ ।