सुनसान न्यूरोड (फोटो-फिचर)

काठमाडौं । काठमाडौंको न्यूरोड संधै चलायमान रहन्छ । चाडपर्वकाे बेलामा त झन् त्यहाँ खुट्टा राख्ने ठाउँ हुँदैन । केही दिनअघिसम्म ठेलमठेल अवस्था रहेकाे न्युराेड अहिले भने शान्त छ । अहिले मानिसकाे भीड पातलिएकाे छ । न्यूरोडसँगै असन, बौद्ध, रत्नपार्कलगायत ठाउँमा पनि मानिसकाे भीड पातलिएकाे छ । नेपालीहरूको महान चाड विजया दशमी घर आँगनमै आइसकेकाे छ । दशैं मनाउन विदेश गएकाहरू धमाधम स्वदेश फर्किरहेका छन् भने सहर पसेकाहरू पनि गाउँ गइरहेका छन् ।    

चंगा देखियो, पर्व आएको आभाष (फोटो-फिचर)

काठमाडौं । दशैं-तिहार नजिकिएसँगै काठमाडौंमा चंगा देखिन थालेको छ । काठमाडौंमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने सन्देश दिन चंगा उडाउने चलन बसेको जनविश्वास छ । यता आकाशमा रंगीविरंगी चंगा उड्न थालेपछि दशैंको माहोल सुरु भएको पनि भनिन्छ । अहिले काठमाडौं उपत्यकाका गल्ली चोकदेखि व्यापारी क्षेत्रमा चंगाको व्यापार बढेको छ, पसलेलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ  । अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंंगाले स्थान ओगटेको छ । नेपालमै बनाइने चंगा महँगो भएकोले भारतीय बजारबाट ल्याइएको प्लास्टिकको चंगाप्रति उपभोक्ताको रोजाइ परेको बिक्रेताहरूले बताएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनको सूपथ मूल्य पसलमा किनमेल गर्दै सर्वसाधारण (फोटो फिचर)

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सुरु गरेको छ । कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित १४ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको हो । असाेज ८ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा आएकाे हाे । कर्पोरेसनले उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, बालाजु, गौशाला, कपन, कौशलटार, कोटेश्वर, जाउलाखेल, स्वयम्भुलगायतका स्थानबाट विभिन्न वस्तुमा छुट उपलब्ध गराइएकाे छ । यसैगरी, चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट गरेको जनाएको छ । कर्पोरेसनका अनुसार कर्पोरेसनको सुपथ मूल्य पसलबाट प्रतिव्यक्तिले छ केजीसम्म नुन, दुई केजी चिनी र त्यही परिणाममा खानेतेल, चामल, दाल र चिउरा उपलब्ध गराइएकाे छ । चिनी प्रतिदुई केजी २०५ रुपियाँ र नुन प्रतिकेजी २४ रुपियाँमा बिक्री गरिएकाे कर्पोरेसनले जनाएको छ । कर्पोरेसनले सञ्चालन गर्ने सुपथ मूल्य पसलका लागि सरकारले एक करोड छुट्याएको छ । कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादनसहित ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै, विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीको विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरेको छ । काठमाडौं उपत्यका चार स्थान (थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक) सहित ४२ जिल्लाका ६३ स्थानमा कम्पनीको बिक्री कक्षहरू राखिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक संघ नेपालले उपत्यकाका दुई स्थानमा सुपथ मूल्य जुत्ता पसल पनि सञ्चालनमा ल्याएको छ । साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर, कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको हाे । कर्पाेरेसनकाे केन्द्रीय कार्यालयमा पुग्दा विकासन्यूजका फाेटाेपत्रकार साैगात पुडासैनीले त्यहाँका दृश्य क्यामेरामा कैद गर्ने जमर्काे गरेका छन् ।