चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित, अध्यक्ष मल्लले गरे स्वागत
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् । नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो । गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरेका छन् । २००५ साल साउन १५ गते जन्मेका गोल्छा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष थिए । हाल उनका हंशराज हुलासचन्द एण्ड को., हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् । गोल्छा २०२८ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध भएका थिए ।
नेपाल बङ्गलादेश क्यापिटलको महाप्रबन्धकमा महत नियुक्त, १६ वर्षको बैंकिङ अनुभव
काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धक पदमा राम कुमार महत नियुक्त भएका छन् । उनी २०७८ बैशाख २ गते महाप्रबन्धकमा नियुक्त भएका हुन् । महतसँग मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा विगत १६ बर्ष देखि काम गरेको अनुभब रहेको छ । नेपाल बङ्गलादेश बैंक लि.को सहायक कम्पनी रहेको नेपाल बङ्गलादेश क्यापिटल लि. नेपालको पूँजि बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभुती तथा संस्थागत परामर्शदाताका रुपमा कार्य गर्दे आएको छ । यो कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता प्रमाणपत्र प्राप्त गरी विधिवत रुपमा कानूनी अस्तित्व प्राप्त गरेर धितोपत्र सम्बन्धी ऐन तथा सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कारोबार गर्न अनुमति प्राप्त संस्था हो ।
उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा डा.शाह नियुक्त, सञ्चालकमा ६ जना निर्वाचित
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. अनिता ढुङ्गाना शाह नियुक्त भएकी छिन् । चैत ३१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा डा. ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो । डा. ढुङ्गानालाई सोहि दिन सम्पन्न संस्थाको साधारणसभाले सञ्चालकमा निर्वाचित गरेको थियो । र, त्यसपछि बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै, संस्थाको सञ्चालक पदमा ६ जनालाई निर्वाचित भएका छन् । अध्यक्षसहित संस्थापक सेयरधनीको समूहबाट ४ जना, सर्वसाधारण समूहमा २ जना र स्वतन्त्र सञ्चालकमा १ गरी ७ जनाको सञ्चालक समिति बनेको छ । संस्थापक समूहबाट खड्ग बहादुर राना, खिलराज मैनाली, तुलसीराम खनालले प्रतिनिधित्व गर्ने छन् । त्यस्तै, सर्वसाधारण समूहबाट राजन तिवारी र यमकुमार खड्काले र स्वतन्त्र सञ्चालकमा भार्गव धितालले प्रतिनिधित्व गर्ने छन् । संस्थाको साधारण सभा रुपन्देहीको भरहवास्थित होटल पौवामा सम्पन्न भएको थियो ।