रेल्वे कम्पनीको प्रबन्ध निर्देशकमा झा नियुक्त, भन्छन्-रेललाई नाफामा लान्छु

काठमाडौं । नेपाल रेल्वे कम्पनीको प्रबन्ध निर्देशकमा निरंजन कुमार झा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले झालाई प्रबन्ध निर्देशकमा आइतबार नियुक्त गरेको हो । झाले  दिउसो ३ बजे मन्त्रालयबाट नियुक्ति पत्र प्राप्त भएको बताए । ‘अहिले अपरेसनमा आइरहेको ठाउँलाई व्यवस्थित गर्ने छु, विराटनगर –बुद्धनगर–लहान–पट्नासम्म नियमित रूपमा कार्गो रेल सञ्चालन गर्ने पहल हुने छ,’ उनले भने । कम्पनीलाई नाफामा लैजानको लागि पनि आफ्नो भूमिका हुने झाले जानकारी दिए । झा कम्पनीमा पहिलो पटक भदौ २०७८ मा संघीय समाजवादीको कोटामा प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । उनको पदावधि सकिए लगत्तै मन्त्रालयले उनैलाई पुन नियुक्त गरेको हो ।

हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

काठमाडौं । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समुह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका नकर्मीलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । हिमालयन बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा सुुरु गरी करीब ३० वर्षदेखि यसै क्षेत्रमा कार्यानुभव भएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालय मार्फत ७५ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । यो संस्थाले करीब १ अर्ब बचत संकलन गरेको छ भने यसको लगानी ४ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा पाठक नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त भएका छन् । पाठक अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक पदमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक पाठकले भदौ १३ गते नै कम्पनीका अध्यक्षबाट पद तथा गापनियताको सपथ ग्रहण गरेका हुन् । यससँगै उनी अर्को व्यवस्था नभएसम्मको लागि सञ्चालक सदस्यमा रहने छन् ।