बागमती प्रदेशका पाँच कर्मचारी ११औं तहमा बढुवा, को कहाँ ?

काठमाडौं । बागमती प्रदेश सरकारले १०औं तहका पाँच जनालाई ११औं तहमा बढुवा गरेको छ । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले अधिकृतस्तर १० औं तहका स्वास्थ्य र प्रशासनतर्फका गरी पाँच जनालाई बढुवा गरी नियुक्तिसँगै पदस्थापन गरेको हो । बैठकले अधिकृतस्तर १०औं तहका स्वास्थ्यतर्फका चार जना र प्रशासनतर्फका एक जना गरी पाँच जनाको बढुवा गरी पदस्थापना गरेको हो । बढुवा हुनेमा स्वास्थ्यतर्फका दीपक तिवारी, बसन्त अधिकारी, अर्जुन सापकोटा र नरेन्द्रकुमार झा रहेका छन् । १०औं तहका उनीहरु ११औं तहमा बढुवा भएका हुन् । बैंठकको निर्णयअनुसार तिवारीलाई स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा, अधिकारीलाई बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा, सापकोटालाई स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा र झालाई बागमती प्रदेशको स्वास्थ्य तालिम केन्द्र काठमाडौंको प्रमुखमा पदस्थापन गरिएको छ । त्यस्तै, बैठकले प्रशासनतर्फ अधिकृतस्तर १०औँ तहबाट अधिकृतस्तर ११औं तहमा दीपेन्द्र सुवेदीलाई बढुवा गरी नियुक्ति तथा पदस्थापन गरेको छ । हाल प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयको कामु निर्देशकका रूपमा कार्यरत सुवेदीलाई शिक्षा विकास निर्देशनालयमा पदस्थापन गरिएको छ ।

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, को हुन् उनी ?

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले ढकाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सीईओ रहेका श्रीचन्द्र भट्टले राजीनामा दिएपछि ढकाललाई कामु सीईओ जिम्मेवारी दिएको थियो । बुधबारदेखि लागू हुने गरी उनलाई सीईओको जिम्मेवारी दिईएको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए । ढकालले तत्कालीन हाम्रो विकास बैंकको सीईओ भएर सन् २०१० देखि सन् २०१६ सम्म ६ वर्ष काम गरिसकेका छन् । ढकालले यसअघि एनआईसी एसिया बैंकको व्यवस्थापकीय भूमिकामा रहेर काम गरेका थिए । आईसीआईसीआई बैंक र डिलोइट इण्डियामा समेत काम गरिसकेका उनीसँग बैंकिङ्ग क्षेत्रको डेढ दशक बढीको अनुभव छ । ढकाल एनआईसी एशिया बैंकमा हुँदा एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्ष समेत हुने अवसर प्राप्त गरेका थिए । उनी चार्टर्ड एकाउन्टेन्ट्स हुन् भने अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका हुन् । उनको स्थायी ठेगाना रुद्रपर ४ रुपन्देही हो ।

नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त, पुस १३ गते बोलायो एजीएम

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा आइएमई इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक दिवाकर पौडेल बिदा भएसँगै कम्पनीले उक्त पदमा मास्केलाई नियुक्त गरेको हो । मास्के यसअघि एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक थिइन् । उनले हालै मात्रै उक्त पदबाट राजीनामा दिएकी हुन् । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएसँगै उक्त समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक बाहिरिएका हुन् । गत साउनमा मात्रै नेपाल इन्स्योरेन्समा रहेको आईएमई समूहको २१ लाख ५७ हजार ६१५ कित्ता अर्थात १५ प्रतिशत संस्थापक सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको थियो । साथै, मंगलबार बसेको सोही बैठकले आगामी पुस १३ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।