नेपाल एसबिआई मर्चेण्टको सीईओमा पोखरेल नियुक्त
काठमाडौं । नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लेखनाथ पोखरेल नियुक्त भएका छन् । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओको रुपमा नियुक्त गरेको हो । यसअघि पोखरेलले नेपाल एसबिआई बैंकको वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १० वर्षभन्दा बढीको कार्य अनुभव सँगालेका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्व रहेका कम्पनीको दावी छ । नव-नियुक्त सीईओ पोखरेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङ्गबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा एसबिआई मर्चेण्ट विश्वस्त छ । नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्षमा पन्त नियुक्त
काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्षमा बाबुराम पन्त नियुक्त भएका छन् । भदौ २९ गते बसेको मन्त्रिस्तरीय बैठकले पन्तलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं महानगर वडा नं. १६ को कार्यवाहक अध्यक्षमा महर्जन
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनले पाएका छन् । सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । त्यस्तै, वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष शिफारिस गरिने निर्णय भएको छ ।