टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा पहाडी नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असोज १७ गतेको मन्त्रीस्तरको निर्णयअनुसार उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो । नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी उनलाई असोज १७ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्ने भएकी छिन् । पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षासहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छिन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५१ फागुन १० गते स्थायी नियुक्ति लिएकी थिइन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।
हिमालयन रिको सीईओ बनिन् पौडेल, प्राधिकरणले दियो स्वीकृति
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा पौडेल नियुक्त भएकी हुन् । प्राधिकरणले कम्पनीबाट पत्र पाएको दुई दिन अर्थात सोमबार (असोज १५ गते) नै पौडेललाई कम्पनीको सीईओ बन्न स्वीकृति दिएको उच्च स्रोतले बताएको छ । नवनियुक्त सीईओ पौडेलले पनि आफू एक कार्यकालको लागि हिमालयन रिको सीईओ पदमा नियुक्त भएको बताएकी छिन् । नवनियुक्त सीईओ पौडेल सोही कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रुपमा कार्यरत थिइन् । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल गत २०७९ मंसिरमा पुनर्बीमा क्षेत्र अर्थात हिमालयन रिमा डीसीईओको रुपमा प्रवेश गरेकी हुन् । त्यसअघि उनी तत्कालिन युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओसँगै कान्छो सीईओ पनि हुन् । ३६ वर्षको उमेरमै कम्पनीको सीईओ बनेकी पौडेलले १० अर्ब रुपैयाँ बराबरको कम्पनी धान्दै छिन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । यसअघि कम्पनीको सीईओमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी थिए । सीईओ पदबाट राजिनामा दिएका उनलाई भने एक वर्षसम्मको लागि कम्पनीको सल्लाकारको रुपमा नियुक्त गरिएको प्राधिकरणले जानकारी गराएको छ ।
नेपाल बैंकबाट बाहिरिए अधिकारी, पन्तले पाइन् जिम्मेवारी
काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी औपचारिक रुपमा बाहिरिएका छन् । सीईओको रुपमा ४ वर्षे कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिएका हुन् । वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रुपमा नियुक्त नगरेपछि उनी बैंकबाट बाहिरिएका हुन् । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नदोहोर्याउने निर्णय गरेको बैंक स्रोतले बताएको छ । नेपाल बैंककै प्रडक्ट रहेका अधिकारी नेपाल बैंकबाटै सीईओ बन्ने पहिलो ब्यक्ति हुन् । नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशक बढी कार्य अनुभव हासिल गरेका अधिकारीले एमबिए र ईएमबिएसम्मको अध्ययन पुरा गरेका छन् । अधिकारी बाहिरिएपछि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तलाई दिईएको छ । आजै बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख (डीसीईओ)पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए । विभिन्न जिम्मेवारीमा रही २ दशक बढिको बैंकिङ्ग अनुभव सँगालेकी पन्तले एम.बि.एससम्मको अध्ययन गरेकी छिन् ।