सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए सपथ
काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले कार्त्तिक १ गते बुधबार गभर्नर अधिकारी समक्ष आफ्ना पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि पाण्डेले बैंकको सञ्चालकको हैसियतमा चार वर्ष कार्य गरिसकेका छन् । इन्जीनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् । नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द भई नेतृत्वदायी भूमिका निभाइ रहेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको छ । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाको वारेमा प्रकाश पारे ।
युवा उद्यमी पाण्डे बने सिटिजन्स बैंकको अध्यक्ष, व्यवसायिक अब्बलता प्रयोग गर्ने अवसर
काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्ष बनेका छन् । बैंकको १७औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाले उनीसँगै सीता कार्की केसी, सजन शर्मा र दिग्विजय बिष्टलाई बैंकको सञ्चालकमा निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित पाण्डे लोमस ग्रुपको कार्यकारी निर्देशक र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यका रुपमा काम गरिरहेका छन् । बैंक, बीमा, सिमेन्ट, मेडिकल, पर्यटन लगायत क्षेत्रमा लगानी गरेर नेपाली उद्योग व्यवसायमा उदाहरणीय उद्यमीको छवि पाण्डेले बनाएका छन् । नेपाली व्यवसायमा पाण्डे समूहले पृथक किसिमको छाप बसालेको छ । पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् । नेपालमा बुवासँगै व्यवसाय गरेर पृथक किसिमको छवि निर्माण गरेकामध्ये उनका दाजुभाइहरु पर्छन् । उनीहरु आफ्नै मिहेनतले नेपाली उद्योग व्यवसाय क्षेत्रमा स्थापित भएका छन् । भारतको बैंलोरबाट इन्जिनियरिङमा स्नातक गरेका पाण्डे दुई दशकभन्दा बढी समयदेखि व्यवसायमा सक्रिय छन् । अध्यक्ष पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन् । अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता गरेका छन् । यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए । निवर्तमान अध्यक्ष राजनसिंह भण्डारीले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने बताए । आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्द रहेको बताए ।
माई खोला हाइड्रोको सञ्चालक समिति गठन, अध्यक्षमा गुरागाईं नियुक्त
काठमाडौं । माई खोला हाइड्रोपावरको सञ्चालक समिति गठन भएको छ । असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित ७ जनाको सञ्चालक समिति गठन गरेको हो । नयाँ सञ्चालक समितिको अध्यक्षमा श्रीजेश गुरागाई निर्वाचित भएका छन् । त्यस्तै, सञ्चालकमा दिपेश गुरुङ्ग, संदीप अधिकारी, रोजीना न्यौपाने, प्रकाश भुजेल र धिरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । स्वतन्त्र सञ्चालकमा भने शोभा घिमिरे निर्वाचित भएकी छिन् । असोज १८ गते सम्पन्न कम्पनीको तश्रो वार्षिक साधारण सभाले उक्त सञ्चालकहरुलाई निर्वाचित गरेको हो ।