अभियान लघुवित्तको सीईओमा लम्साल नियुक्त

काठमाडौं । अभियान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् । माघ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ पदमा नियुक्त गरेको हो । उनले माघ १२ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो ।

दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । सरकारले दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना प्रकाशन गर्दै अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो । ३० वर्ष पुरा भई ६५ बर्ष ननाघेका व्यक्तिले ७ दिन अर्थात् माघ २१ गतेभित्र आवेदन पेश गर्नु पर्नेछ । मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएको, तर सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त व्यक्तिले आवेदन दिन सक्ने छन् । उम्मेदवारले पेश गरेको व्यावसायीक कार्ययोजना, त्यसको प्रस्तुतिकरण र अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभवको मुल्यांकन गरि नियुक्तिका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ । पुरुषोत्तम खनालले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त रहेको छ । खनाल २०७६ साल साउन ९ गतेदेखि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको संयोजकत्वमा समिति गठन गरिने भएको छ । प्राधिकरणका सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको विम्मेवारी दिइएको छ ।

बाराही हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । हाइड्रोपावरको सञ्चालक समितिले मुक्तिनाथ क्यापिटललाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। हाइड्रोपावरले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई ल्याउने प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै कम्पनीले हस्ताक्षर गरेका छन् ।