प्रधानन्यायाधीशद्वारा विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । न्याय परिषद्को यही मङ्सिर ५ गते बसेको बैठकमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो । सो बैठकले सदस्यहरुमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाशीश रितेन्द्र थापालाई सिफारिस गरेको थियो ।
वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. श्रवण कुमार थापालाई
काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा श्रवण कुमार थापालाई दिइएको छ । उनलाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक नियुक्त गरेका हुन् । यसअघि उक्त पदमा डा सन्तोष पौडेल थिए । उनी पार्टीमा संलग्न भएको जानकारी पाएपछि निर्वाचन आयोगले तत्कालिन निर्देशक डा. पौडेललाई कारबाहीको लागि सिफारिस गरेको थियो ।
माण्डु हाईड्रोपावरको सञ्चालकमा श्रेष्ठ निर्विरोध निर्वाचित
काठमाडौं । माण्डु हाईड्रोपावरको सञ्चालकमा बरुण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनी कम्पनीको सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । मंसिर १५ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाको निर्णयबाट श्रेष्ठ उक्त पदमा निर्विरोध निर्वाचित भएका हुन् ।