सेबोनका डा. अधिकारीले पाए निमित्त अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निमित्त अध्यक्षको जिम्मेवारी डा. नवराज अधिकारीले पाएका छन् । आइतबार मन्त्रिस्तरिय निर्णय गर्दै अर्थमन्त्रालयले अधिकारीलाई बरिष्ठ कर्मचारीको हैसियतमा निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो । गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन छ । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । त्यस्तै, सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि हमाललाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ । साथै, सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन् ।
मञ्जुश्री फाइनान्सको सीईओमा तेजराज तिमिल्सिना
काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओ तिमिल्सिनालाई सीईओ पदमा नियुक्त गरेको हो । उनले माघ ५ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो ।
किसान लघुवित्तको निमित्त सीईओमा सजल खड्का नियुक्त
काठमाडौं । किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त भएका छन् । माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) खड्कालाई सीईओ पदमा नियुक्त गरेको हो । खड्काले माघ ४ गतेदेखि नै लागू हुने गरी निमित्त सीईआको जिम्मेवारी सम्हालेका छन् । यसअघि सीईओ पदमा पर्वतकुमार कार्की थिए । कार्कीलाई सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै उनले लघुवित्तबाट राजीनामा दिएका हुन् ।