प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा नियुक्त, इन्स्योरेन्स कम्पनीको अध्यक्षमा पहिलो महिला
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा कुसुम लामा नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीमा अध्यक्ष हुने सम्भवत उनी पहिलो महिला हुन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर लामा सोही कम्पनीको विगत चार वर्षदेखि सञ्चालक थिइन् । प्रभु बैंकमा करिब चार वर्ष सञ्चालक भएर काम गरेको उनको अनुभव छ । बैशाख २० गते बसेको संचालक समितिको बैठकले लामालाई कम्पनीको संचालक समितिको अध्यक्ष चयन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले जानकारी दिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागू भएपछि कम्पनीको अध्यक्ष देविप्रकाश भट्टचनले पदबाट राजीनामा गरेको थिए । नयाँ ऐनमा एउटै व्यक्ति बैंक र बीमा दुबै कम्पनीको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था गरेको छ । भट्टचन प्रभु बैंकमा अध्यक्ष छन् ।
सिभिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ नियुक्त
काठमाडौं । सिभिल बैंकले कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोबिन्द गुरुङलाई नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको दोस्रो कार्यकाल आगामी साउन १२ गतेबाट सकिने र तेस्रो कार्यकालका लागि महर्जनलाई नियुक्त हुन अदालतको फैसला बाधक हुने भएपछि बैंकले उनलाई विदा गर्ने भएको छ । महर्जन सिभिल बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । त्रिभुवन विश्वविद्यालयबाट २०४९ सालमा एमबीए गरेका गुरुङसँग २१ बैंक विभिन्न बैंकमा काम गरेको अनुभव छ । कामु सीईओ गुरुङ विगत साढे चार वर्षदेखि सिभिल बैंकमा कार्यरत छन् । उनले यसअघि मेघा बैंकमा साढे २ वर्ष, ग्लोबल बैंकमा साढे तीन वर्ष र हिमालयन बैंकमा ११ वर्ष काम गरेका थिए । साउनपछि गुरुङनै सो बैंकको प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना रहेको छ । साउन १२ गतेसम्म किशोर महर्जनको कार्यकाल बाँकी नै भएपनि उनी महत्वपूर्ण निर्णयमा सहभागी हुने छैनन् । जिम्मेवारी हस्तान्तरणको कामले कार्यलय गएपनि महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्ने छैनन् ।
लोकसेवाकै मिलेमतोमा निलम्बित कर्मचारी बढुवा
काठमाडौं । काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ। महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको भेटिएको हो । यसबाट लोकसेवा आयोगको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ। पदपूर्ति समितिबाट गरिएको निर्णयमा लोकसेवा आयोगका प्रतिनिधिसमेत रहेका पदपूर्ति समितिका अध्यक्ष शिवप्रसाद मुनकर्मी, सदस्य सचिव (महानगरपालिकाका कार्यकारी अधिकृत) ईश्वरराज पौडेलसहित ६ जनाले हस्ताक्षर गरेको भेटिएको छ। गत २९ फागुनमा बसेको महानगरपालिकाको पदपूर्ति समितिले श्रेष्ठलाई प्राविधिक सेवा अधिकृत स्तरको सातौं तहमा बढुवाको सिफारिस गरेको पाइएको हो। तर, उनको नाम भने बढुवाको सूचीमा प्रकाशित गरिएको छैन। श्रेष्ठसँगै बढुवा भएका अन्य कर्मचारीहरूको नामावली भने २९ फागुनकै मितिमा प्रकाशित गरिएको थियो। राजधानी दैनिकबाट ।