एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा मोहन गुरुङ नियुक्त
काठमाडौं । एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा नेपाली मूलका मोहन गुरुङ ३ वर्षको लागि नियुक्त भएका छन् । अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई उक्त पदमा पून नियुक्त गरेका हुन् । गुरुङको पहल मा अमेरिकाको वाशिङ्गटन राज्यले नेपाली भाषालाई अंग्रेजी भाषापछि द्वितिय भाषाको क्रेडिट पाउने सुविधा प्रदान गरेको थियो । यो क्रेडिट १२ कक्षा सम्मको लागि मान्य हुन्छ । उनको आफ्नो योजनामा १२ कक्षासम्मको विद्यार्थीहरुले पढ्न, लेख्न र बोल्न सक्ने स्तरको स्कुल सन्चालन गर्ने, परिक्षा दिनको लागि परिक्षा केन्द्रको ब्यबस्थापन गर्ने, कम्युनिटी सेन्टरको ब्यबस्था, सानोतिनो ब्यापारको ब्यबस्थापन, वृद्धााश्रम सञ्चालन, बालबालिकालाई लागूपदार्थ तथा मानसिक रोगको रोकथामजस्ता बिषयहरुमा केन्द्रित हुने उनले बताए । चालिस बर्षको इतिहासमा उक्त पदमा नियुक्ति पाउने गुरुङ पहिलो नेपाली मूलका व्यक्ति हुन् । सियाटल वाशिङ्गटनमा बसोबास गर्दै अँएका गुरुङसँग चिकित्साक्षेत्र अन्तर्गत वीर अस्पतालमा झण्डै डेढ दशक सेवा गरेको अनुभव छ । सन् १९९९ मा नेपाल सियाटल समाज स्थापना गरेर विभिन्न संस्थासँग आवद्ध रहेका उनी गुरुङ नेपाली जनसम्पर्क समिति वाशिङ्गटन च्याप्टरका पूर्व सल्लाहकार समेत हुन् । नेपाल सरकारबाट रामेछाप र उदयपुरमा गएको भूकम्पमा मानवीय सहायता गरे वापत गुरुङ सम्मानित भएका थिए। ३२ बर्षको इतिहासमा यो सम्मान प्राप्त गर्ने गुरुङ पहिलो नेपाली समेत हुन् ।
एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले गौतमलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । गौतमले असार ११ गतेदेखि कम्पनीको जिम्मेवारी समाल्ने बताएका छन् । १७ वटा निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा पछाडि रहेको र अरु कम्पनीसँग प्रतिस्पर्धामा नरहेको यस कम्पनीलाई प्रतिस्पर्धी बनाउने गौतमले बताए । २६ वर्षसम्म बैकिङ पेशामा क्रियाशिल गौतमको लागि बीमा नितान्त नयाँ पेशा हो । ‘अनुभवको दृष्टिले बीमा मेरो लागि नितान्त नयाँ क्षेत्र हो । मनमा नयाँ कामप्रति उत्सुकता हुनुका साथै सफलता पूर्वक जिम्मेवारी निर्वाह गर्ने चुनौति पनि उत्तिकै छ’ गौतमले विकासन्युजसँग भने-समस्यामा परेको इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक सुधारमा पाएको सफलताले एभेरेष्ट इन्स्योरेन्स कम्पनी पनि सुधार गर्ने आँट र अठौत मसँग छ ।’ नेपाल ग्रिनलेज बैंकबाट बैकिङ पेशामा प्रवेश गरेका गौतमले हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, सनराईज बैंक, एनसीसी बैंक, एनआईसी एशिया हुुँदै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसीसी बैंकमा विलय भएपछि उनी एनसीसी बैंकमा डीजीएम थिए ।
नेपाल व्यवस्थापन संघको कार्यकारी निर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त
काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को कार्यकारी निर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । संघले असार १ गतेदेखि लागु हुने गरि कम्पनीको कार्यकारी निर्देशकमा पौड्याललाई नियुक्त गरेको हो ।