इक्रा नेपालको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त

काठमाडौं । इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त भएका छन् । गौतमले गत मंगलबारदेखि नै सो कम्पनीको व्यवस्थापकीय नेतृत्व समालेका छन् । गौतम यसअघि माछापुच्छे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । करिब ३० वर्ष बैकिङ क्षेत्रमा बिताएका गौतमसँग जोखिम विश्लेषण र कर्जा लगानीमा राम्रो दख्खल छ । इक्रा नेपालले नेपाली कम्पनीहरुको क्रेडिट रेटिङ गर्दै आएको छ । पछिल्लो समय पब्लिक कम्पनीहरुले साधारण सेयर तथा हकप्रद सेयर निष्काशन गर्दा, एफपीओ जारी गर्दा, ऋणपत्र जारी गर्दा वा म्यूच्यल फण्ड जारी गर्दा सम्बन्धित कम्पनीले अनिवार्य क्रेडिट रेटिङ गर्नु पर्ने नीतिगत व्यवस्था भएकाले यस कम्पनीको भूमिका निकै महत्वपूर्ण रहेको छ । २०१२ देखि सञ्चालनमा आएको इक्रा नेपालको मुख्य लगानीकर्ता भारतको इक्रा कम्पनी हो । हाल क्रेडिट रेटिङ गर्ने इक्रा नेपाल एउटा मात्र कम्पनी हो भने निकट भविष्यमा नयाँ कम्पनी खुल्दैछ ।

नबिल बैंकको सञ्चालकमा उपेन्द्र पौडेल नियुक्त

उपेन्द्र पाैडेल काठमाडौं । नबिल बैंकको सञ्चालक समिति सदस्यमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । सञ्चालक कृष्णप्रसाद शर्माको सट्टामा पौडेलले एनबी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गरेको बैंकले जनाएको छ । नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर लगानी रहेको छ । एनबी इन्टरनेशनलको मुख्य लगानीकर्ता विनोद चौधरी हुन् । पौडेल यसअघि एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा करिव १६ वर्ष प्रमुख कार्यकारी अधिकृत भई काम गरेको पौडेलसँग तीन दशकभन्दा बढी अवधि बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा सौरभ दुगड नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा सौरभ दुगड नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको कम्पनी संचालक समितिकोे बैठकले दुगडलाई कम्पनी संचालकमा नियुक्त गरेको हो । कम्पनीको १४२ औं बैठकले संस्थापक शेयरधनीको तर्फबाट नवनियुक्त दुगड़लाई संचालक समितिको बाँकि कार्यकालको लागि नियुक्त गरेको छ ।